प्रिमनसुन सुरु : आज देशभर बदली हुने

spot_img

काठमाडौं- नेपालमा हिउँद सकिएर हालै मात्र प्रिमनसुनको अवधि सुरु भएको छ । आँकलन गरिएभन्दा कम चिसो र कम पानी परेर यसपालीको हिउँद सकिएको हो । हिउँद सकिएर प्रिमनसुनको अवधि यही शुक्रबारदेखि सुरु भए पनि प्रिमनसुन सक्रिय हुन भने केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रिमनसुन अवधि सुरु भएपछिको आजको यो पहिलो मौसम बदली हो । मुख्यगरी पश्चिमी वायु र अरेवियन सागरको जलवाष्पयुक्त हावाका कारणले अहिले मौसममा बदली आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेको भनाइ छ । उनका अनुसार अहिले लुम्बिनी, बागमती, गण्डकी, कणाली प्रदेशमा बढी बदली रहेको छ ।

सुदूरपश्चिम, कोशी र मधेशमा कम बदली रहेको भन्दै यो सर्दै गएकाले ती क्षेत्रमा पनि बदली हुने उनको भनाइ छ । यो क्रम आज रातिसम्म बढ्दै जाने र भोलिदेखि क्रमशः मौसममा सुधार हुने अपेक्षा गरिएको छ ।

आज राति पश्चिमी भू–भागमा बढी बदली हुने उनको भनाइ छ । काठमाडौँमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ । गत मङ्सिर १६ गतेदेखि फागुन १७ गतेसम्मको अवधि यस वर्षको हिउँदको समय थियो । हिउँदले बिदा लिए पनि अझै पश्चिमी वायुको प्रभाव बाँकी नै रहेको महाशाखाले जनाएको छ ।