११४ औं अन्तराष्ट्रिय महिला दिवसः नेपाल क्रिकेट संघ अर्घाखाँचीले खेल प्रतिभा ममता जि.सी.लाई प्रोत्साहन स्वरुप मासिक ३ हजार दिने

spot_img

-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची।

र्घाखाँची –  नेपाल क्रिकेट संघ अर्घाखाँचीले महिला खेलप्रतिभा ममता जि.सी.लाई मासिक ३ हजार प्रोत्साहन भत्ता दिने घोषणा गरेको छ ।

क्रिकेट सहितका खेलमा अत्यन्तै रुचि र लगनशिलताका साथ निरन्तर एकेडेमीमा सहभागि भइरहने महिला खेलाडी ममतालाई ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर सहयोगको घोषणा गरिएको क्रिकेट संघ अर्घाखाँचीका अध्यक्ष ऋषिकेश भट्टराईले जानकारी दिनुभएको हो । राज्यबाट खेलक्षेत्रमा प्रयाप्त लगानी हुन नसकिरहेको अवस्थामा स्थानिय स्तरमा रहेका खेलप्रतिभाको हौसला स्वरुप खेलाडी प्रोत्साहन कोष स्थापना गरिनु र खेलप्रतिभालाई सहयोग गरिनु निकै प्रसंसायोग्य कार्य रहेको खेलप्रेमीहरुको धारणा छ ।

पहिलो चरणमा एक बर्षको लागि खेलाडी ममता जि.सी.लाई उक्त सहयोगको घोषणा सहित खेलक्षेत्रको विकासमा हातेमालो गर्न नेपाल क्रिकेट संघ अर्घाखाँचीले आव्हान समेत गरेको छ । क्रिकेट संघका अध्यक्ष भट्टराईले एक प्रेस विज्ञप्ती जारी गरि खेलाडी प्रोत्साहन कोषमा सोइच्छिक रकम जम्मा गर्न र स्थानिय क्षेत्रमा रहेका खेलाडीहरुलाई खेलक्षेत्रमा आवद्ध गराउन अपिल गर्नुभएको छ ।

अर्घाखाँची र आसपासका जिल्लाहरुबाट समेत क्रिकेट खेलाडी उत्पादनमा अहोरात्र खट्दै आउनुभएका अध्यक्ष भट्टराईले सन्धिखर्क स्थित टुडिखेलमा निःशुल्क क्रिकेट एकेडेमी संचालन गर्दै आउनुभएको छ । उहाँकै नेतृत्वमा सरोकारवालाको योगदानमा अर्घाखाँचीबाट राष्ट्रिय स्तरका खेलाडी तयार भइ खेलिरहेका छन् । अध्यक्ष भट्टराईले सन्धिखर्क टुडिखेलमा संचालनमा ल्याउनुभएको क्रिकेट एकेडेमीमा नव बाल खेलाडीहरुको उल्लेख्य सहभागिता रहंदै आएको छ ।