युक्रेनी सेनाले सार्वजनिक गर्‍यो पाँच नेपाली युद्धबन्दी

spot_img

काठमाडौं । युक्रेनी सेनाले रसियासँगको युद्धका क्रममा बन्दी बनाइएका पाँच नेपालीसहित आठ विदेशी सैनिकलाई सार्वजनिक गरेको छ । युक्रेनी सेनाले हाल दाङको बिजौरीमा बस्दै आएका रोल्पाका प्रतीक पुनसहित पाँच नेपालीलाई सार्वजनिक गरेको हो ।

युक्रेनमा हाल राजापुर नगरपालिका–१ बर्दियाका विवेक खत्री, काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ–२ का विकास राई, दाङका प्रतीक पुन, खैरहनी चितवनका सुजन सुवेदी र गोरखाका ईश्वर लामिछाने बन्दी जीवन बिताइरहेका छन् । प्रतीकलाई युक्रेनी सेनाले पक्राउ गरेको सूचनापछि उनको परिवारको तर्फबाट अवस्था सार्वजनिकका लागि कन्सुलर विभागमार्फत निवेदन दर्ता गराइएको थियो ।

युक्रेनी सेनाको नियन्त्रणमा रहेका तीन नेपालीलाई घर फिर्तीका लागि पहल गरिदिन परिवारका सदस्यहरूले आग्रह गरेका छन् । लामो समयदेखि बेपत्ता प्रतीकसहितका नेपाली युवाहरू सकुशल सार्वजनिक भएपछि नेपालमा उनीहरूका परिवारलाई राहत मिलेको छ ।
nepali in ukraine 2 JjWV7e3cDd

युक्रेनले ग्लोबल साउथ र विश्वका अन्य गरिब मुलुकहरूलाई रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिक जोगाउन आग्रह गरेको छ । युक्रेनको युद्धबन्दी उपचार समन्वय मुख्यालयका प्रतिनिधि पेट्रो यात्सेन्कोले रूसमा आफ्ना नागरिक जानबाट रोक्न अझै कडा कदम चाल्न आवश्यक रहेको बताए । उनले गरिब देशहरूलाई आफ्ना नागरिक रूसी सेनामा भर्ती हुनबाट रोक्न आग्रह गरेका छन् ।

उनले भनेका छन्, ‘न्यूनस्तरको आय भएका देशका नागरिकलाई रूसले भर्ती गरिरहेको छ । त्यसलाई रोक्न अझै कडा कदम चाल्न आवश्यक छ ।’ गत हप्ता भारतले रूसमा नागरिक पठाउन सक्रिय ठूलो गिरोह पत्ता लगाएको बताएको थियो । नेपालले गत डिसेम्बरमा मस्कोलाई आफ्ना नागरिक रूसी सेनामा भर्ना नगर्न र त्यहाँ कार्यरत नेपाली सैनिकलाई फिर्ता पठाउन आग्रह गरेको थियो । – एनपि