ताइवानमा शक्तिशाली भूकम्प

spot_img

काठमाडौँ- ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । जसले टापु र यसका छिमेकी देशहरूमा सुनामीको चेतावनी जारी गरेको छ।

यूएस जियोलोजिकल सर्भेका अनुसार भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ ।

भूकम्प मापन अधिकारीहरूका अनुसार यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो ।

‘भूकम्प जमिनको नजिक छ र यो उथलपुथल छ । यो ताइवान र तटीय टापुहरूमा महसुस गरिएको छ । यो २५ वर्ष यताकै सबैभन्दा शक्तिशाली हो’ ताइपेइ भूकम्प विज्ञान केन्द्रका निर्देशक वु चिएन फुले भने ।

सन्‌ १९९९ मा ताइवानमा ७.७ म्याग्निच्युडको भूकम्पले २४ सय मानिसको ज्यान लिएको बीबीसीले जनाएको छ । त्यस्तै उक्त भूकम्पले पाँच हजार भवन ध्वस्त पारेको थियो । त्यस्तै सन्‌ २०१८ मा पनि ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

बीबीसीका अनुसार ताइवानमा शक्तिशाली भूकम्पपछि छिमेकी देश जापानमा मौसम विज्ञान विभागले मियाकोजिमा र ओकिनावा द्वीपमा सुनामी आउने चेतावनी दिएको छ । मियाकोजिमा र ओकिनावा टापुहरूमा ३ मिटर (लगभग १० फिट) अग्लो छालहरूको चेतावनी दिएको छ ।

त्यस्तै ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ ।  फिलिपिन्सको भूकम्प मापन निकायले सुनामीको चेतावनी पनि जारी गरेको छ ।

चीनको दक्षिणपूर्वी फुजियान प्रान्तका केही भागमा भूकम्पको धक्का महसुस भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय मिडिया आउटलेटहरूमा फुटेजमा भत्किएका आवासीय भवनहरू र मानिसहरूलाई उनीहरूको घर र विद्यालयबाट बाहिर निकालिएको देखाइएको छ ।

– बीबीसी