लुम्बिनी प्रदेश; सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए

लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।

मुख्यमन्त्री जोखबहादुर महराले बिना विभागीय मन्त्रीमा एमालेबाट गुल्मी निर्वाचन क्षेत्र २ (२) का सांसद दिनेश पन्थी, कपिलवस्तु निर्वाचन ३ (१) का सांसद अर्जुन कुमार केसी, रुपन्देही निर्वाचन क्षेत्र ५ (१) का सांसद भूमीश्वर ढकाल र बाँके निर्वाचन क्षेत्र ३ (१) का सांसद रत्नबहादुर खत्री बिना विभागीय मन्त्रीमा नियुक्त गरेका हुन् ।

त्यस्तै नागरिक उन्मुक्ति पाटीबाट दल नेता बर्दिया निर्वाचन क्षेत्र २ (२) सांसद धर्मबहादुर चौधरी र नेकपा एसकी रुपन्देहीकी भगवती अधिकारी र नवलपरासीका निर्वाचन क्षेत्र २ (१) का स्वतन्त्र सांसद खड्क बस्नेत पनि बिना विभागीय मन्त्री बनेका छन् ।

यी सात जना मन्त्री सहित लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित मन्त्रालयको संख्या ११ पुगेको छ । चतै २३ मुख्यमन्त्रीमा नियुक्त भएका महराले २५ गते चार सदस्यीय मन्त्री मण्डल विस्तार गरेका थिए । त्यतिबेला बिना विभागीय नियुक्त भएका मन्त्रीलाई भने बिहीबार मन्त्रीको जिम्मेवारी दिइएको छ ।

एमालेबाट अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) का सांसद चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, रोल्पा निर्वाचन क्षेत्र १ (२) का सांसद माओवादीबाट दीपेन्द्रकुमार पुनलाई सरकारको प्रवक्ता सहित स्वास्थ्य मन्त्रालय र जसपाका बाँके निर्वाचन क्षेत्र २ (१) का सांसद भण्डारीलाल अहिरलाई कृषि तथा भूमि व्यवस्था मन्क्रालयको जिम्मेवारी तोकिएको छ ।