राजतन्त्र फर्कन्न ढुक्क हुनुहोस : केपी शर्मा ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अयोग्यता, असफलता र कर्मका कारण जनताबाट विस्थापित राजतन्त्र फर्काउन खोज्ने प्रयास सफल नहुने दाबी गरेका छन्।

लोकतान्त्रिक युगमा जन्मजात श्रेष्ठताको सामन्ती मान्यतालाई बोक्ने राजतन्त्र फर्कन्न भन्ने कुरामा ढुक्क हुन उनको आग्रह थियो।

ललितपुरको गोदाबारीमा शनिबार पार्टीको महाधिवेशन परिषद् बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले लोकतान्त्रिक गणतन्त्रको विकल्पमा निरङ्कुश सामन्ती व्यवस्थाको कल्पनासम्म गर्न नसकिने दाबी गरे।

इतिहास फेरि पछाडि फर्कने सम्भावना नरहेको उल्लेख गर्दै उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको प्रणाली सञ्चालनमा समस्या देखिएका हुन सक्छन्। संविधानले परिकल्पना गरेको न्यायपूर्ण समतामूलक लोकतान्त्रिक र समृद्ध समाजको निर्माणमा विलम्ब भइरहेको हुन सक्छ। तर यस समस्याको विकल्प निरङ्कुश सामन्ती व्यवस्थाको पुनर्स्थापना हुनै सक्दैन।’

अध्यक्ष ओलीले प्रतिकुल राजनीतिक शक्ति सन्तुलनका लागि सकारात्मक शक्तिहरूलाई गोलबन्द गर्न आवश्यक रहेको बताए।

राष्ट्रियतामा आघात पुग्ने सम्भावनाप्रति चनाखो रहनु तथा समृद्धि नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षालाई अगाडि बढाउन पार्टीले प्रभावकारी भूमिका खेल्न जरुरी रहेको अध्यक्ष ओलीको भनाइ थियो।