राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलि वैशाख ११ गतेदेखि नेपालको दुईदिने राजकीय भ्रमण गर्दै छन्।

मध्यपूर्व एसियाबाट पहिलोपटक हुन लागेको यो उच्चस्तरको भ्रमणलाई नेपालले आफ्ना श्रमिकका हकहितमा उपयोग गर्नुपर्ने यस क्षेत्रका जानकारको सुझाव छ। कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन्।

सन् २०१९ देखि २०२२ सम्म कतारमा नेपाली राजदूत रहेका नारद भारद्वाज कतारीहरु नेपाली कामदारप्रति बढी प्रभावित भएका कारण पनि यो विषयमा उनीहरुको पनि चासो रहेको बताउँछन्।

‘भ्रमणमा नेपाल सरकारले नेपाली श्रमिकको पारिश्रमिक, रोजगारको सुरक्षा, हकहितका विषयमा पहल गर्नुपर्छ, कतारबाट हुन लागेको यो उच्चस्तरको भ्रमण हो, कतारी अमिरले भ्रमणका क्रममा सहमति जनाएपछि त्यसमा लागू गर्न कुनै बाधा अवरोध हुँदैन।’

कतार धनाढ्य र विकसित मुलुक भए पनि त्यहाँ नेपाली श्रमिकको पारिश्रमिक तुलनात्मक रूपमा न्यून छ। कतारमा नेपाली कामदारले दक्षिण कोरिया र इजरायलभन्दा न्यून मात्रामा पारिश्रमिक पाउने गरेका छन्। जबकि कतार तुलनात्मक रूपमा विकसित र धनी मुलुक हो। भ्रमणका क्रममा नेपाल सरकारले यसमा लबिङ गर्नुपर्ने पूर्वराजदूत भारद्वाजको सुझाव छ।