मौसमविद् भन्छन तत्काल पानी पर्ने सम्भावना छैन

काठमाण्डौ – तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन ।

Impact-based weather forecast from now onward

आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका एक–दुई ठाउँमा चट्याङ्गसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तर देशका विभिन्न ठाउँमा फैलिएको आगो निभाउने र प्रदूषण हटाउने गरी ठूलो पानी पर्ने सम्भावना भने छैन ।

अहिले प्रि–मनसुन अवधिमा पानी नपर्दा देशभर आगलागी र डढेलोको प्रकोप बढेको छ । वन तथा भूसंरक्षण विभागकाअनुसार ५० वटा जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । पछिल्लो एक हप्तामा दुई सय ५० भन्दा धेरै वन क्षेत्रमा डढेलो लागेको छ । दिउँसोपख चल्ने हावाहुरीले डढेलो झनै फैलने गरेको छ ।

आज पनि लुम्बिनी, सुदूरपश्चिम, कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना रहेको छ । पछिल्ला केही दिनदेखि तराईका विभिन्न ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।

– एनपि