बिआरआइका कारण कांग्रेस एमालेमा विवाद छैन : प्रधानमन्त्री


 

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्।

आशन्न चीन भ्रमणका सम्बन्धमा आज पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारेका हुन्।

‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ। ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन। चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ। दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौँ। त्यसकारा यो भ्रमण सफल हुन्छ।’

उनले सरकारमा रहेका नेपाली कांग्रेस र एमालेबीच भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिजाउनुको कुनै अर्थ नरहेको बताए। ‘विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरू कुनै काम हामी गर्दैनौँ। म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने।

उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए।

प्रधानमन्त्री ओलीले अर्को छिमेकी भारतसँग पनि उस्तै मित्रवत सम्बन्ध रहेको स्पष्ट गर्दै दुई देशको मैत्री सम्बन्धको लाभ नेपालको आर्थिक विकासमा हुने गरी लिन सक्नुपर्नेमा जोड दिए।

images

उनले नेपालका कार्यकारी प्रमुखको औपचारिक भ्रमण पहिला कुन मुलुकबाट गर्ने भन्ने यहाँको आवश्यकता र निर्णयका आधारमा हुने भएकाले यस्ता विषयलाई कुनै देशविरुद्ध ‘कार्ड’ का रुपमा कसैले लिन नहुने आग्रह गरे।

images

छलफलमा नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौंबाहिर रहेका कारण अनुपस्थित थिए।

पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वपरराष्ट्र मन्त्रीहरू ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, भेषबहादुर थापा, एनपी साउद, महेन्द्रबहादुर पाण्डे, डा. प्रकाशचन्द्र लोहनी, डा. विमला राई पौड्याललगायत सहभागी थिए।

images