पत्रकार महासंघ पार्टीहरूका संगठनहरूको खेलमैदान, यस्तो बन्यो गठबन्धन

 

काठमाडौं- नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने महाधिवेशनका लागि नेपाली कांग्रेसनिकट प्रेस युनियन र एमालेनिकट प्रेस चौतारीले गठबन्धन गरेर साझा उम्मेदवारी दर्ता गरेका छन्।

पत्रकार महासंघको १३ सदस्यीय पदाधिकारी र विभिन्न तहका संरचनाका लागि दुई संस्थाबीच पद बाँडफाँट भएको हो।

गठबन्धनले अध्यक्षमा प्रेस चौतारीकी निर्मला शर्मालाई अघि सारेको छ। महिला उपाध्यक्षमा नितु पण्डित, कोषाध्यक्षमा रामकृष्ण ज्ञवाली, समावेशी सचिवमा सविन प्रियासन रहेका छन्।

प्रेस युनियनबाट वरिष्ठ उपाध्यक्षमा, दीपक आचार्य, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, महासचिवमा रामप्रसाद दाहाल रहेका छन्।

यस्तै, सचिवमा रमेश खतिवडा, सोनी शर्मा, प्रकाश धौलाकोटी, बैकुण्ठ पराजुली र अशोक तिवारी रहेका छन्।

गठबन्धनले प्रदेश र जिल्ला तहमा पनि जिम्मेवारी बाँडफाँड गरेको छ।

images

कोशी, मधेस, कर्णाली र उपत्यकाका अध्यक्ष प्रेस चौतारीले लिनेछन् भने बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसिएट, र प्रतिष्ठान अध्यक्ष प्रेस युनियनले पाउने सहमति भएको छ।

images

गठबन्धनसँग प्रतिस्पर्धा गर्न प्रेस सेन्टर नेपालले माओवादी केन्द्र र अन्य वामपन्थी समूहहरूसँग संयुक्त प्यानल खडा गरेको छ।

अध्यक्ष पदका लागि कमल गिरी उम्मेदवार छन्। उनको समर्थनमा प्रेस सेन्टरका विष्णु सापकोटा र समाजवादी प्रेस संगठनका विश्वमणि सुवेदी छन्।

images

यसअघि महासंघका अध्यक्ष विपुल पोख्रेलले सदस्यता विवादका कारण राजीनामा दिएका थिए। विवाद समाधान भएपछि महाधिवेशन गर्न लागिएको हो।

महाधिवेशनको नतिजाले महासंघको आगामी नेतृत्वको दिशा निर्धारण गर्नेछ। यसपटकको निर्वाचन कांग्रेस र एमालेनिकट संस्थाहरूबीचको सहकार्य र वामपन्थी समूहहरूको संयुक्त मोर्चाबीच रोचक प्रतिस्पर्धा हुने देखिन्छ।

पत्रकारहरू स्वतन्त्र हुनुपर्ने सामान्य मान्यता रहे पनि दलनिकट भएका कारण पत्रकारिताको निष्पक्षतामा प्रश्न उठ्दै आएको छ। दलको भ्रातृ संगठनकै हैसियतमा पत्रकारहरूले संस्था बनाएका छन्। यसरी निर्वाचित हुने दलनिकटका व्यक्तिले पत्रकारिता क्षेत्रको व्यावसायिक हितमा कम, दलीय आज्ञा बढी मान्ने गरेका छन्।

Nepal life insurance

यसपालि निष्कृय पत्रकारहरूलाई हटाउनुपर्ने ‘शुद्धीकरण’ अभियान चलाइएको थियो। तर, यिनै दलनिकट संगठनहरूले यसमा लामो किचलो गरे। जेठमै हुनुपर्ने निर्वाचन सर्दै-सर्दै मंसिरमा पुगेको हो।

देशभरि दलमा आवद्ध नरहेका स्वतन्त्र पत्रकारहरू पनि छन्। तर, नगन्य मात्रामा रहेका उनीहरूको आवाज पत्रकार महासंघमा मुखरित हुन सकेको छैन।

 

अन्य समाचारहरु