आजको मौसम: २ प्रदेशमा हिमपातको सम्भावना, तराईका धेरै भूभागमा हुस्सु र कुहिरो

 

काठमाडौं – हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यतिबेला (आइतबार बिहान) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। तराईका धेरै भूभागमा अहिले हुस्सु र कुहिरो लागेको छ।

हुस्सु र कुहिरोको कारण तराईको जनजीवन प्रभावित भएको छ। देशका बाँकी भू(भागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।’