

-गोपाल प्रसाद भट्टराई, अर्घाखाँची
माघ–१७,अर्घाखाँची
राष्ट्रिय जनमोर्चाका नेताहरुले नेपालमा संघियता असफल सिद्ध भइसकेको दाबी गरेका छन् । संघिय शासन लागु भएको १० बर्ष पुग्न लाग्दा समेत केन्द्र, प्रदेश र स्थानीय सरकारको काम,कर्तव्य र अधिकार स्पष्ट गर्न नसक्नु, ऋणको भरमा देश चलाउनु, प्रदेशको वर्गिरण र नामाकरणमा एकमत हुन नसक्नु जस्ता दर्जनौं कारणले संघियता फेल भएको नेताहरुको तर्क छ ।

राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले बिहिबार संघियता बिरुद्ध आयोजना गरेका छुट्टा–छुट्टै सभा तथा कोणसभामा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । अर्घाखाँचीको भूमिकास्थान–१० को धनचौर र मालारानी–९ गोखुङ्गामा सभा र भूमिकास्थान–९ को ढिकुरा गैरागोठमा राष्ट्रिय जनमोर्चाले बिहिबार संघियता बिरुद्ध कोणसभा सम्पन्न गरेको हो ।

ऋणको पैसाले ल्याएको घ्यू खाएर जिउ लाग्दैन भने जस्तै संघियताले देशको प्रगति हुनै नसक्ने नेताहरुको जिकिर छ । संघिय व्यवस्था धान्नको लागि भएको खर्च जोगाएर शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरि रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा नेताहरुको जोड छ ।

भूमिकास्थानको धनचौर, डडुवामा सम्पन्न सभामा राष्ट्रिय जनमोर्चाका नेता बाबुराम पन्थी, जिल्ला सल्लाहकार टेक बहादुर थापा, नगर समिति अध्यक्ष हिमलाल बन्जाडे, अन्टुक भूमिकास्थानका अध्यक्ष तिलकराम भट्टराई, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष रेसम वि.क., अखिल छैठौंका पुर्व केन्द्रिय सदस्य टेकराज भुसाल र अनेमसंघ धनचौरको नेतृ ज्ञानकला गुरुङले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम राष्ट्रिय जनमोर्चा धनचौरका जेष्ठ सदस्य डण्डपाणी गैरेको अध्यक्षता, उपाध्यक्ष जित बहादुर गुरुङको स्वागत मन्तव्य र अध्यक्ष गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न भएको हो ।

कार्यक्रममा अखिल नेपाल युवक संघ भूमिकास्थानका नगर उपाध्यक्ष माधव बन्जाडे, अखिल नेपाल युवक संघ जिल्ला सदस्य अजय के.सी., कमल गैरे, अन्टुक भूमिकास्थान नगर सदस्य मणिराम कुंवर, रक्तिमका जिल्ला उपाध्यक्ष दिपक पन्थी, सदस्य निसा राना, प्रगतिशिल पत्रकार संघका जिल्ला सदस्य सन्तोष सुनार लगायतको आतिथ्यता रहेको थियो ।

यस्तै भूमिकास्थान–९, ढिकुराको गैरागोठमा सम्पन्न कोणसभामा राष्ट्रिय जनमोर्चाका नेता बाबुराम पन्थीले मन्तव्य राख्नुभएको थियो । नारायण घिमिरेको अध्यक्षता र लक्ष्मण के.सी.को संचालनमा सम्पन्न कार्यक्रममा राजमोका जिल्ला तथा स्थानिय तहका नेताहरुको उपस्थिति रहेको थियो ।


उता मालारानीको गोखुङ्गामा सम्पन्न जनसभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य सागर के.सी., जिल्ला सचिवालय सदस्यद्धोय भिमलाल आचार्य र कमल प्रसाद घिमिरेले मन्तव्य राख्नुभएको थियो ।

वडा समिति अध्यक्ष टोपलाल घिमिरेको अध्यक्षता, मालारानी गाउँपालिका समिति अध्यक्ष योगेन्द्र थापाको स्वागत मन्तव्य र सुदिप पन्थीको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघको नेतृ खकी थापा, स्थानिय नेता मान बहादुर विष्ट सहितका नेताहरुको आतिथ्यता रहेको थियो ।

जनआन्दोलन दिवसको अवसर पारेर राष्ट्रिय जनमोर्चाले आसन्न चैत्र २४ देखि ३० गतेसम्म काठमाडौंमा संघियता बिरुद्ध शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । सोहि कार्यक्रमलाई सफल पार्न अहिले यो पार्टीले देशैभर जिल्ला तहमा तयारीका कार्यक्रमलाई ब्यापकता दिएको छ ।

अर्घाखाँचीमा पनि पौष महिनामा जिल्ला, पालिका र वडा तहका बैठक तथा भेला सम्पन्न गरि अहिले प्रचारात्मक सभाहरु गर्दै आइरहेको राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जनाएको छ ।



