

चितवन ।सहारा चितवन सहकारीको बचत रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । चितवन जिल्ला अदालतमा न्यायाधीश दयाराम ढकालको इजलासमा थुनछेक बहस सकिएको हो । बिहीबार लामिछाने पक्षबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त र जगन्नाथ पौडेललगायतले बहस गरेका हुन् ।

उनीहरूको बहसपछि सरकारी वकिलले जबाफी बसह सकेसँगै थुनछेक बहस सकिएको हो । बहस सकिएपछि उक्त मुद्दामा लामिछानेलाई धरौटीमा छाड्ने कि थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने भन्ने न्यायाधीशले आदेश गर्नेछन् ।

मंगलबार सरकारी वकिलको कार्यालयले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको वचत रकम अपचलनमा सभापति लामिछानेसहित ३२ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । १२ जनालाई संगठित अपराध र ठगीको मुद्दा दर्ता भएको छ भने अन्यलाई ठगीमामात्रै मुद्दा चलाइएको छ । गोरखा मिडिया नेटवर्क प्रालिसँग सम्बन्धित तीन जनालाई दुवै मुद्दा चलाइएको छ ।

गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रहेका लामिछानेलाई ठगीको मुद्दा मात्रै चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । जिल्ला प्रहरीले भने रविलाई पनि दुवै मुद्दाको माग दाबी गरेर सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालय चितवनले रवि लामिछानेको संलग्नता गोरखा मिडियामा गएको रकमको चेक काट्ने बाहेकको संलग्नता नदेखिएकाले संगठित अपराधमा मुद्दा नचलाएको बताएको छ ।
सहारा चितवन सहकारीबाट गोरखा मिडियामा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ गएको देखिएको छ । यसअघि सूर्यदर्शन सहकारीको बचत अपचलनमा लामिछानेलाई ६५ लाख, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख र रूपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा १ करोड धरौटीमा छाडेको थियो ।



