

काठमाडौं- जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।
न्यायाधीश दयाराम ढकालको इजलासले बिहीबार उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको हो।

साहारा चितवन सहकारी ठगी प्रकरणको थुनछेक बहसपछि अदालतले लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको हो

साथै अदालतले साहारा सहकारी ठगी प्रकरणमा संलग्न नरहेको भनेर अहिले नै भन्न नसकिने अवस्था नरहेको भन्दै ५४ लाख धरौटीमा रिहा गर्ने आदेश गरेको चितवन जिल्ला अदालतका श्रेस्तेदार विष्णुप्रसाद आचार्यले बताउनु भयो । धरौटी वा जमानत दिननसके कानून बमोजिम थुनामा राख्न पनि आदेश दिएको छ ।

उहाँले भन्नुभयो, ‘तत्काल प्राप्त प्रमाणका आधारमा प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४ लाख (चौवन्न लाख रुपैयाँ) धरौटी वा जमानत वा बैंक जमानत लिनु । सो लिन नसके कानून बमोजिम थुनामा राख्नू ।’
कास्की, काठमाडौं र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । यसअघि लामिछाने रूपन्देहीमा एक करोड, काठमाडौंमा ६० लाख र कास्कीमा ६५ करोड धरौटीमा छुटेका थिए।
लामिछानेसहित २७ जना र ६ वटा संस्थाविरूद्ध सहारा बहुउद्देश्यीय सहकारी संस्थाको ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको ठहरसहित मुद्दा दायर भएको थियो।

चितवनमा अन्य व्यक्तिलाई संगठित अपराध अन्तर्गतसमेत मुद्दा दायर गरिएकोमा लामिछानेलाई ठगी मुद्दा मात्रै दायर गरिएको थियो।



