

१८ फेब्रुअरी २०२५, नयाँ दिल्ली – भारतको जयन्ता एरोस्पेस एण्ड इन्जिनियरिङ कलेजमा अध्ययनरत नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहार र जातीय विभेदको विरोध गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले प्रेस विज्ञप्ति जारी गरेको छ।

समाजका अध्यक्ष ठाकुर खनालद्वारा जारी विज्ञप्तिमा भारतीय विश्वविद्यालयहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरू विभिन्न किसिमका भेदभाव, उत्पीडन, आर्थिक शोषण तथा अन्यायको शिकार भइरहेको उल्लेख गरिएको छ। जयन्ता एरोस्पेस कलेजमा नेपाली विद्यार्थीहरूमाथि भएको पछिल्लो घटनालाई गम्भीर रुपमा लिँदै समाजले पीडितहरूलाई न्याय दिलाउन आवश्यक पहल गर्न भारतीय सरकार, शैक्षिक निकाय तथा सम्बन्धित निकायसमक्ष माग गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, नेपालको शिक्षा प्रणाली व्यवहारिक र रोजगारमुखी नहुँदा हजारौं नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि भारत, अमेरिका, अस्ट्रेलिया, बेलायत, जापान लगायतका देशहरूमा जान बाध्य छन्। तर विदेशमा उनीहरू विभेद, अपमान र आर्थिक शोषणको शिकार भइरहेका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि नेपाल सरकार, भारत सरकार तथा अन्तर्राष्ट्रिय निकायहरूलाई उचित कदम चाल्न आग्रह गरेको छ। साथै, सरकारले स्वदेशमै गुणस्तरीय, रोजगारमुखी तथा आधुनिक शिक्षा प्रणाली लागू गरी विद्यार्थीहरूलाई विदेशिनबाट रोक्नुपर्नेमा जोड दिएको छ।
समाजले पीडित विद्यार्थीलाई न्याय दिलाउन सबै पक्षको ऐक्यबद्धता आवश्यक रहेको बताउँदै आगामी दिनमा थप संघर्ष गर्ने चेतावनी दिएको छ।




