केपी ओलीलाई मोरङमा धक्का, विद्या भण्डारीको जितमा विनोद ढकाल ‘नायक’

 

काठमाडौं – नेकपा एमाले मोरङको राजनीतिमा तरंग आएको छ। एमाले मोरङमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट समूहले जित हासिल गरेको छ।

भर्खरै आएको चुनावी परिणाम अनुसार मोरङमा भण्डारीनिकट अजम्बर राई जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्।  राईसहित प्रमुख पदमा भण्डारीनिकटले जित हासिल गरेको छ।

राईले ओलीनिकट राजकुमार ओझालाई ३९ मतले पराजित गरेका छन्। उपाध्यक्षमा भण्डारीनिकट सागर थापा विजयी भएका छन्। सचिवमा भण्डारीनिकट सन्तोष वान्तवा विजयी भएका छन्।

उपसचिव पदमा विराटनगर महानगरपालिकाकी उपमेयरलाई पराजित गर्दै भण्डारीनिकट उषा झा निर्वाचित भएकी छन्। नेकपा एमाले मोरङमा सदियौंदेखि ओलीको बर्चस्व थियो। तर अहिले मोरङको राजनीतिमा ओली समूह पराजित भएको छ।

कुनै बेला ओली समूहमा रहेका मोरङका प्रभावशाली नेता विनोद ढकालले उक्त समूह छोडेसँगै त्यहाँको राजनीतिमा नयाँ परिस्थिति देखिएको छ।

images

पूर्वराष्ट्रपति भण्डारी पुन: राजनीतिमा आएसँगै मोरङमा ओलीको बर्चस्व धानेका नेता ढकालले ओली समूह त्यागेका थिए।

मोरङको एमाले राजनीतिमा ढकाल जुन दिशामा जान्छन्, त्यसैले मोरङको राजनीति सम्हालेको इतिहास छ। एमालेबाट छुट्टिएर समाजवादीमा गएका महेश रेग्मी एक पटक एमालेको मोरङ अध्यक्ष भएका थिए।

images

ओलीलाई मोरङ एमालेको अधिवेशनमा प्रमुख अतिथिको रुपमा डाकिएको थियो। तर, आफ्नो टिम पराजित हुने संकेत देखिएपछि उनी अधिवेशनमा गएनन्। उनले उपाध्यक्ष रामबहादुर थापालाई पठाए।

थापाले अध्यक्ष ओलीको सन्देश सुनाउँदै पार्टीको आन्तरिक निर्वाचनमा चुनाव नगराउने ओलीको सन्देश बाचन गरेका थिए। तर, त्यसविपरीत एमाले मोरङमा दुई समूहले चुनावी प्रतिस्पर्धा गरेका थिए।

images

ओलीले पार्टीको आन्तरिक निर्वाचनमा प्रतिस्पर्धा नगराउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की तथा राज्य निकायहरूको भरपुर प्रयोग गरेका थिए। तर, एमालेको आन्तरिक राजनीतिक प्रतिस्पर्धामा प्रधानमन्त्री ओलीको कुनै जोड चलेन।

उपाध्यक्षमा सागर थापा ४ सय २२ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी शान्ति लिम्बू भुजेलले ३ सय ९१ मत मात्रै पाइन्। थापा विराटनगर र लिम्बू केराबारीका बासिन्दा हुन्।

त्यस्तै, सचिवमा सोमराज थापा विजयी भएका छन्। थापाले ४ सय ६१ मत ल्याउँदा उनका प्रतिस्पर्धी रविन थापा ३ सय ६८ मतमा सीमित भए।

Nepal life insurance

उपसचिवमा भारी मतका साथ सन्तोष वान्तवा निर्वाचित भए। उनले ४ सय ९० मत ल्याए। वान्तवाका प्रतिस्पर्धी इर्जालाल राजवंशीले ३ सय ११ मत मात्रै ल्याए।

महिला उपसचिवमा उषा झा निर्वाचित भइन्। उनले ४ सय १८ मत ल्याउँदा प्रतिस्पर्धी शिल्पा निराला कार्कीले ४ सय ५ मत पाइन्।

एमाले मोरङको अधिवेशन फागुन १७ गतेदेखि विराटनगरमा सुरु भएको थियो। प्रमुख निर्वाचन अधिकृत सुरेशलाल श्रेष्ठका अनुसार जिल्ला अधिवेशनमा ८ सय ८८ मत खसेको थियो। ९ सय ११ जना प्रतिनिधिमध्ये २३ जना अनुपस्थित भएको श्रेष्ठले बताए।

पार्टीको जिल्ला नेतृत्व चयनका लागि बुधबार मतदान भएको थियो। बिहीबार दिउँसोबाट पार्टी कार्यालय पाञ्चालीमा सुरू भएको पदाधिकारीतर्फको मतगणना शुक्रबार साँझ सकिएको छ।

पदाधिकारीतर्फको मतगणना मात्रै सकिएको छ, सदस्यहरुको मतगणना जारी छ। सदस्यहरूको मतगणना शनिबार बिहानसम्ममा सम्पन्न गर्ने तयारी छ। एमाले मोरङमा पाँच पदाधिकारीसहित जिल्ला कमिटी १ सय ६५ सदस्यीय हुने छ।