



काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ केही समय स्थगित गर्ने निर्णय गरेको छ ।

राजावादी गतिविधि बढेको र राजावादीहरु मुठभेडमा जाने योजनामा रहेको ठहर गर्दै माओवादीले फागुन महिनाभरका लागि अभियान कार्यक्रम स्थगित गर्ने निर्णय भएको एक नेताले जानकारी दिए ।

राजावादी गतिविधि बढिरहेकोले उनीहरूको गतिविधिलाई चुनौती दिने गरी संसदीय र अन्य मोर्चामा पार्टीलाई सक्रिय बनाउने तयारी गरेको छ ।
अभियान अन्तरगत शनिबार रौतहटमा कार्यक्रम सकिएपछि अभियान स्थगित गरिएको छ, तर औपचारिक रुपमा घोषणा भएको छैन । भोलि बारामा कार्यक्रम राखिएको थियो ।

‘अहिले सरकारविरुद्ध व्यापक जनआक्रोश बढिरहेको छ, हामी तराई मधेश जागरण अभियानमा पनि त्यो देखियो । अर्कोतिर राजावादीहरुले पनि यो असन्तुष्टिलाई क्यास गर्न खोजे । सरकारविरुद्धको असन्तुष्टिलाई व्यवस्थाका विरुद्ध प्रयोग गर्न खोजिएको हाम्रो ठहर रह्यो । त्यसैले हाललाई अभियान स्थगित गर्यौं ।’ ती नेताले भने ।
राजावादीहरुको अहिलेका गतिविधिलाई सामान्य लिन नसकिने माओवादीको निष्कर्ष छ । ‘हामीले पहिले सामान्यरुपमा लिएका थियौं , तर अहिले हामीलाई यो सामान्य लागेको छैन, उनीहरु भीड्ने मुठमा पुगेको छन् । ती माओवादी नेताले भने, गणतन्त्रका लागि सबैभन्दा बढी माओवादीले लडेको हो, त्यसैले हामीले त्यसको कडा प्रतिवाद गर्ने तयारीमा लाग्छौं ।’
आईतवार माओवादीले पदाधिकारी बैठक बोलाएको र आवश्यक निर्णय गर्ने उनले बताए । माओवादीले अरु दलसँग पनि छलफल गर्नेछ ।
-SP



