शिक्षक महासंघ र सरकारबीच नौं बुँदे सहमति: शिक्षकहरूले दुर्गम भत्ता पाउने निजी स्रोतका शिक्षकका लागि सामाजिक सुरक्षा कोष

 Nepal Life

 

काठमाडौं । सरकार र शिक्षक महासंघबीच नौं बुँदामा सहमति भएको छ । सो सहमति बोकेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त मन्त्रिपरिषद् बैठकमा सहभागी हुन वार्तास्थलबाट निस्किएका छन्।

Nepal life insurance

‘नौं वटा बुँदामा सहमति भएको छ। मन्त्रीज्यू क्याबिनेट जानु भएको छ । क्याबिनेटबाट पारित भएर आउँदा बुँदामा थपघट हुनसक्छ,’ वार्तामा सहभागी एक सदस्यले भने । मन्त्रिपरिषद्ले निर्णय गरेपछि सहमतिका बुँदा सार्वजनिक गर्ने तयारी छ । केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । सो बैठकपछि सहमतिका बुँदा सार्वजनिक हुँदैछ । सहमति अनुसार आगामी असार १५ गतेभित्र शिक्षा ऐन ल्याउन दुवैपक्ष सहमत भएका छन्।

शिक्षक महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरूका नौ बुँदे माग सम्बोधन गर्न सरकार तयार भएको जानकारी दिइन्। ‘नौ बुँदे मागमा सहमति भएको छ । अब मन्त्रिपरिषद्ले अनुमोदन गरे शिक्षक आन्दोलन रोकिन्छ’ उनले भनिन्। यस्तै, शिक्षा मन्त्रालयका सचिव दीपक काफ्लेले पनि शिक्षा ऐन छिट्टै पारित गर्ने र शिक्षकले आन्दोलन रोक्ने सहमति भएको बताए।

यसैगरि सरकारले शिक्षकहरूलाई दुर्गम भत्ता प्रदान गर्ने भएको छ । नेपाल शिक्षक महासंघको माग अनुसार सरकारले स्थायी तथा अस्थायी शिक्षकहरूलाई दुर्गम भत्ता दिने भएको हो ।

सहमति सार्वजनिक गर्दै शिक्षा मन्त्री रघुजी पन्तले सरकारदे शिक्षकहरूलाई दुर्गम भत्ता दिने निर्णय गरेको बताएका हुन् । ‘स्थायी तथा अस्थायी कोटमा रहेका सबै प्रकृतिका शिक्षकहरूलाई सरकारले दुर्गम भत्ता उपलब्ध गराउने भएको छ,’ उनले भने ।

निजी स्रोतका शिक्षकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याइने उनले बताए । यस्तै, सरकारले शिक्षकहरूको मर्यादाक्रम पनि तोक्ने भएको छ ।

 

Nepal life insurance