




काठमाडौं । वामपन्थी नेता एव्म पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए । केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो (सोमबार) आईसीयूमा राखिएकोमा आज दिउँसो निधन भएको हो ।


नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य नेपाल पछिल्लो समय भने राजनीतिमा निष्क्रिय थिए । विसं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपाल कम्युनिष्ट घटक कोअर्डिनेशन केन्द्र हुँदै नेकपा (माले) स्थापनाका एक महत्त्वपूर्ण नेताका रुपमा परिचित छन् । २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर उनले राजनीतिक जीवन प्रारम्भ गरेका थिए ।

नेकपा (माले) स्थापनापछि कठोर भूमिगतकालमा लुम्बिनी, बाँके बर्दिया, मेची, भारत प्रवास र उपत्यकाको पार्टी कामको नेतृत्व गरेका थिए । उनी चर्चित नख्खु जेल ब्रेक काण्डका एक पात्र हुन् ।

उनले पार्टी कामकै सिलसिलामा इलाममा जिम्मेवारी सम्हाल्दा त्यहीँकी झुमा देवानसँग वैवाहिक जीवन शुरु गरेका हुन् ।
साहित्य तर्फ सञ्जय थापाका नामले परिचित उपन्यास, कथा, नियात्रा र गीत लेखन, गायन उनका मुख्य विधा थिए । माले स्थापनाकालका सहयोद्धा रत्नकुमार वान्तवाको जीवनीमा आधारित उनको उपन्यास ‘देउमाइको किनार’ पछि भिडियो चलचित्रका रुपमा आएको थियो । यसबाहेक उनका अनगिन्ती साहित्य सामाग्री बजारमा उपलब्ध छन् । उनी माक्र्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्य हुन् । एमाले मुखपत्र ‘नवयुग’ को संस्थापक प्रधान सम्पादक रहेका उनले दृष्टि र छलफल साप्ताहिकको सम्पादक थिए ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारमा उनले सूचना तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि जलस्रोत र शिक्षा मन्त्रीका रुपमा पनि काम गरे ।



