




-केशब पन्थी ,अर्घाखाँची।
अर्घाखाँची, वैशाख-२७- भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीमा गुणस्तरीय ,बालमैत्री आधारभूत शिक्षा र डिजिटल सिकाई सम्वन्धि अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगत सन्धिखर्क नगर पालिका द्वारा संचालित एकदिने कार्यक्रममा अभिभावकहरुलाई बालमैत्री ,गुणस्तरीय शिक्षा र डिजिटल सिकाईको बारेमा तालिम प्रदान गरिएको थियो ।


कार्यक्रममा मन्तव्य राख्दै सन्धिखर्क नगरपालिकाका नगर शिक्षा अधिकृत मञ्जु आचार्यले शैक्षिक गुणस्तर बृद्धिको निम्ति सरोकारवाला पक्षले विशेष ध्यान पुर्याउनु पर्ने बताउनु भयो ।


उहाँले अबको शिक्षा बालमैत्री र डिजिटल प्रविधिमा आधारित हुने भन्दै यस क्षेत्रमा आबद्ध सबैले आफुलाई नयाँ प्रविधिमा जोडेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।

आचार्यले शिक्षा क्षेत्रमा राज्यले लगानी गरे अनुसार प्रतिफल आउन नसकेको भन्दै , यस प्रति सबै सचेत हुनुपर्ने बताउनु भयो ।

उहाँले विद्यार्थीको पहिलो पाठशाला घर परिवार भएको भन्दै आफ्ना छोराछोरी प्रतिको कर्तव्यबोध बारे अभिभावकको ध्यानाकर्षण गराउनुभयो ।


विद्यालयका अभिभावक विष्णु जि.एम.को अध्यक्षता र सन्धिखर्क नगरपालिकाका प्राविधिक सहायक विन्दु पोख्रेलको संचालनमा सम्पन्न कार्यक्रममा भगवती माध्यमिक विद्यालय कुर,शंखेटारीका प्रधानाध्यापक ध्रुवबहादुर खत्री,शिक्षक शोभाखर पन्थी लगायतले मन्तव्य राख्नु भएको थियो ।



