




-गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची ।
अर्घाखाँची – राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले जिल्लाका ४ ठाउँमा चेतनासभा गरेको छ । गणतन्त्रको रक्षा, प्रतिगमनका विरूद्द संघर्ष र संघीयता खारेजीको निम्ती जनचेतना सभा गर्ने उक्त पार्टीको केन्द्रिय कार्यक्रम अन्तरगत राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले तिन पालिकाको ४ ठाउँमा सभा सम्पन्न गरेको हो ।


गत बैशाख २२ गते सन्धिखर्कमा पत्रकार सम्मलेन गरि कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गत शुक्रबार मालारानीको रतनमारे, शनिबार भूमिकास्थानको ढाकावाङ्ग–पिपलनेटा, मंगलबार सन्धिखर्क–शान्तिबगैंचा र बुधबार भूमिकास्थानको असुरकोट–उदयठाँटीमा सभा सम्पन्न गरेको छ । सरकार र सत्तारुढ दलको गलत प्रवृतिले गणतन्त्रको खिल्ली उडाएको, राजावादीहरु सल्बलाउन थालेको र संघियताले देश कंगाल हुने अवस्थामा पुगेको बिषय आम नागरिकलाई जानकारी गराउने उदेश्यले यस्तो अभियान संचालन गरिएको राजमो जिल्ला अध्यक्ष थम्मन के.सी.को भनाई छ ।


नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी. प्रमुख वक्ताको रुपमा रहनुभएको यो अभियानमा जिल्लाका शिर्षस्थ नेताहरुको समेत सहभागिता रहेको थियो । चेतनासभा मार्फत नागरिकले देशको अवस्था बुझ्ने मौका पाएको राजमो अर्घाखाँचीको दाबी छ ।

राजमोको बुधबार असुरकोट उदयठाँटीमा सम्पन्न कार्यक्रममा बोल्ने नेताहरुले नेपाली जनतालाई ठग्नेहरुलाई जनताले चुनावमा ठग्नुपर्नेमा जोड दिएका छन् । देशमा उद्योग बन्द गर्ने र युवा विदेश बेचेर देशमा समृद्धिका कुरा गर्नेहरुका कारण गणतन्त्रको बिरोध हुन थालेको उनिहरुको तर्क छ ।

गणतन्त्रको विकल्प खोज्ने बेला भइनसकेको बताउँदै उनिहरुले यदि विकल्प खोज्ने अवस्था आएमा जनगणतन्त्र गणतन्त्रको विकल्प हुने तर राजतन्त्र हुन नसक्ने जिकिर गरेका छन् ।

सत्तारुढ पार्टी र ब्युरोक्रेसीको स्वार्थले नेपालमा खाद्यान्नदेखि बिउ सम्म बाहिरबाट आयात गर्दा नागरिकमा निराशा छाएको उनिहरुको धारणा छ । देशको शिक्षा, स्वास्थ्य, कृषि जस्ता महत्वपूर्ण क्षेत्र नै सरकारले बिचौलियाको हातमा सुम्पिएको नेताहरुको आरोप छ ।

नेपालमा अहिले सबैभन्दा बढि युवा जनशक्ति भएको अवस्था रहेको स्मरण गर्दै नेताहरुले सरकारले युवाशक्तिलाई काम दिन नसक्नु बिडम्बना भएको बताएका छन् । उदयठाँटीको कार्यक्रममा नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता तिलक जि.सी., अनेमसंघ केन्द्रिय महासचिव सकुन्तला राना, राजमो केन्द्रिय सदस्य तथा भूमिकास्थान नगरप्रमुख झविलाल थापा, राजमोका नेता सागर के.सी. र राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल लगायतले बोल्नुभएको थियो ।


राजमो भूमिकास्थान नगर अध्यक्ष हिमलाल बन्जाडेको अध्यक्षता, नेता खिमानन्द वेल्वासेको स्वागत मन्तव्य र बुद्धिराज बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा अखिल नेपाल युवक संघ जिल्ला अध्यक्ष रेसम वि.क., राजमोका स्थानिय नेताहरु शिव बन्जाडे, नुम बहादुर सुनार, राम बहादुर नेपाली, लाल बहादुर पुलामी, रक्तिम सांस्कृतिक परिवारका जिल्ला सदस्य सन्तोष सुनार लगायतको आतिथ्यता रहेको थियो ।

यो अभियान अन्तरगत राजमो अर्घाखाँचीले जेठ ३ गते शनिबार शितगंगा नगरपालिका, पाणिनी र छत्रदेव गाउँपालिकामा पनि कार्यक्रम गर्ने तय गरेको जिल्ला सचिव बाबुराम पन्थीले जानकारी दिनुभएको छ ।



