



-बसन्त बहादुर खड्का, अर्घाखाची डट्कम ।
अर्घाखाँची, सन्धिखर्क – जिल्लाको प्रमुख धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल सुपा देउराली मन्दिर तीन महिनादेखि नेतृत्वविहीन अवस्थामा पुग्दा व्यवस्थापनमा चरम अन्योल सिर्जना भएको छ।

संरक्षण समितिको १३औँ साधारणसभा सम्पन्न भएको लामो समय बितिसक्दा पनि नयाँ कार्यसमिति गठन हुन नसक्नुको कारण राजनीतिक दलहरूबीचको रस्साकस्सी र पाँच जना आकांक्षीबीच सहमति नजुट्नु हो।

यसले मन्दिरको दैनिक सञ्चालन मात्र होइन, दीर्घकालीन योजना र प्रतिष्ठामा समेत गम्भीर असर पारिरहेको छ। अध्यक्ष पदका लागि एमाले निकट निवर्तमान अध्यक्ष फर्सबहादुर केसी र प्रकाश थापा, नेपाली कांग्रेसबाट गणेश थापा, कृष्णलाल पुरी र धनबहादुर खत्री मैदानमा छन्। कसैले पनि आफ्नो दाबी फिर्ता लिन नचाहेपछि समितिको गठन प्रक्रिया पूर्णरूपमा ठप्प भएको छ। यसबीच संरक्षण समितिबिनै मन्दिर सञ्चालन भएको छ, तर व्यवस्थापन, सरसफाइ, सुरक्षा र आगामी विकास योजनाहरू अलपत्र छन्।

साधारणसभा सम्पन्न हुँदा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, प्रदेश सांसद रामजी प्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय प्रमुखहरू, जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईराला, सितगंगा नगरपालिकाका मेयर, वडा अध्यक्ष, विभिन्न दलका प्रतिनिधि, पत्रकार महासंघ, मन्दिरका पूर्व अध्यक्षहरू, खाचिकोट र सितापुर क्षेत्रका साधारण सदस्यहरू लगायतको उपस्थित थियो। यति ठूलो सरोकारवाला उपस्थित भएको कार्यक्रम सम्पन्न भएको तीन महिना पुग्न लाग्दा पनि नेतृत्व गठनप्रति कसैको चासो देखिएको छैन। सुपा देउराली मन्दिरमा दैनिक हजारौँ भक्तजनहरूको घुइँचो लाग्ने गर्छ। नजिकको छिमेकी देश भारतसहित विभिन्न मुलुकबाट श्रद्धालुहरू दर्शनका लागि आउने गरेका छन्।


दर्शनसँगै भेटी, बलि, गरगहना चढाउने चलन यस मन्दिरको विशेषता हो। यस्तो पवित्र स्थानमा समितिको अभावले व्यवस्थापन गम्भीर संकटमा पर्दै गएको छ। मन्दिरको सञ्चालन हाल स्थानीय भक्तजन र स्वयंसेवकहरूको सक्रियतामा अगाडि बढिरहेको छ। तर, संस्थागत संरचना बिना दीर्घकालीन पूर्वाधार विकास, सुरक्षा, संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन, आर्थिक पारदर्शिता, सम्पत्ति व्यवस्थापनजस्ता विषयहरू जोखिममा पर्दै गएका छन्। स्थानीय समुदायले नेतृत्वविहीन अवस्थाले मन्दिरको गरिमा, धार्मिक परम्परा र सामाजिक एकता सबैमा नकारात्मक प्रभाव पारिरहेको गुनासो गरेका छन्। “सत्ता र स्वार्थका कारण मन्दिरको धर्म–संस्कृति र आस्था बलिदान हुनु दुःखद हो,” एक स्थानिय अगुवाको भनाइ छ।

सरोकारवाला निकायहरूले सहमतिमा नेतृत्व चयन गर्ने, निष्पक्ष मतदान प्रक्रिया अघि बढाउने वा धार्मिक अगुवाहरूको मध्यस्थतामा समिति गठन गर्ने उपायहरू तत्काल खोज्न आवश्यक देखिन्छ। अन्यथा, यो राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय रूपमा चिनिँदै गएको मन्दिर थप अस्तव्यस्त हुने खतरा देखिएको छ।
प्रश्न तीन मैना बितिसक्दा पनि के अब नेतृत्व सेवाभावसहित आउने हो , कि सुपा देउराली मन्दिर राजनीतिक स्वार्थको जालमै अल्झिरहने हो ?



