विश्व धूमपानरहित दिवस: नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै, हरेक वर्ष ३८ हजारको सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु

 

काठमाण्डौ – विश्व धूमपानरहित दिवस शनिबार नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

विश्व स्वास्थ्य सङ्गठनले केही वर्षअघि गरेको सर्वेक्षणमा देशको ७२ प्रतिशत घरमा न्यूनतम एक व्यक्तिले धूमपान गर्ने गरेको पाइएको छ ।

Nepal life insurance

त्यस्तै नेपालमा हरेक वर्ष ३८ हजार जनाको सुर्तीजन्य पदार्थ तथा धूमपानका कारणले ज्यान जाने गरेको छ ।

नेपालमा ७३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको कुनै न कुनै रूपको सेवन गर्ने गरेको तथा कम्तीमा एक पटक अनुभव गरेका पुगनपुग ९० प्रतिशत भएको एक अर्को अध्ययनले देखाएको छ ।

२५ प्रतिशत शहरी क्षेत्रका गर्भवतीले पनि धूम्रपान गरेको पाइन्छ । ७७ प्रतिशत भन्दा बढी महिला, ८९ प्रतिशत भन्दा बढी पुरुषद्वारा कुनै न कुनै रूपमा सुर्तीजन्य पदार्थको प्रत्यक्ष वा अप्रत्यक्षरूपमा सेवन गर्ने गरेको अनुमान छ ।

चुरोट, बिँडी, सुर्ती, सुल्फा, जर्दा, पराग र गुट्खालगायतमा हुने निकोटिन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

एक खिल्ली चुरोटले मानिसको आयु साढे पाँच मिनेट, हरेक वर्ष एक महिना र ५० वर्षमा चार वर्ष घटाउने गरेको छ ।

धूमपानले क्यान्सरसहित अन्य रोगको जोखिम बढाउने गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताए।

क्यान्सरमा ९० प्रतिशत भन्दा धेरै मुखको अनि ८५ प्रतिशत फोक्सो, स्वरयन्त्र, अन्ननली, मुत्राशय, पित्ताशय, आमाशय, छालाको, पाठेघर, स्तन क्यान्सरको कारक धूमपान रहेको उनको भनाइ छ ।

क्यान्सरको जोखिमबाट जोगिन अम्मल अर्थात् लत छोड्न, चुरोट तथा सुर्तीजन्य पदार्थ नखान डाक्टरको सल्लाह छ ।
सुर्तीजन्य पदार्थ रोकथाम र नियन्त्रणका लागि बनेका ऐन, कानूनलाई कडाइसाथ कार्यान्वयन गर्नुपर्नेमा विज्ञको जोड छ ।

 

Nepal life insurance