मनसुन भित्रियो, कोशी प्रदेशमा ठूलो वर्षा

 

काठमाडौं – मनसुन भित्रिएसँगै कोशी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको छ । पछिल्लो ६ घण्टामा सुनसरीमा १३१ मिलिमिटर र झापामा १०४ मिलिमिटर पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि कोशीसँगै मधेश, बागमती, कर्णाली प्रदेशलगायतका केही ठाउँमा पानी परिरहेको छ । शनिबार दिउँसो पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति कोशी र मधेस प्रदेशको केही स्थानहरू तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरू र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा धेरै वर्षाको समेत सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।

कोशी र मधेस प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

यसपालिको मनसुन दुई हप्ता छिटो बिहीवार रातिदेखि कोशी प्रदेशबाट भित्रिएको हो । कोशीका सबै ठाउँमा मनसुनी प्रभाव परिसकेको र अरु ठाउँमा पनि बिस्तारै सर्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।

यसपालिको मनसुनमा पहिलेको भन्दा धेरै पानी पर्ने मौसमविदले यसअघि नै बताइसकेका छन् ।

 

Nepal life insurance