



गोपाल प्रसाद भट्टराई
अर्घाखाँची- अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले नियमित बजार अनुगमन अन्तरगत मंगलबार ढाकावाङ्गमा बजार अनुगमन गरेको छ । अनुगमन टोलीले वडा नम्बर १ र २ को संगम स्थल पिपलनेटा बजारमा रहेका विभिन्न पसलहरुको अनुगमन गरेको हो ।


पिपलनेटामा अवस्थित सबैखाले पसलहरुमा गरिएको अनुगमनका क्रममा केहि पसलमा म्याद गुज्रिएका तथा लेभलिङ्ग नगरिएका खाद्यबस्तु भेटिएको नगरस्तरिय बजार अनुगमन समितिका निरिक्षण अधिकृत शंकर अधिकारीले जानकारी दिनुभएको छ ।

नगरस्तरिय बजार अनुगमन समितिका निरिक्षण अधिकृत शंकर अधिकारीको नेतृत्वमा पशुसेवा शाखाका पशुप्राविधिक बलराम खनाल, राजश्व शाखा प्रमुख जगत प्रसाद भुसाल, पत्रकार गोपाल प्रसाद भट्टराई, वडा सचिव डिल बहादुर कुमाल, बादल कुशहवा, ढाकावाङ्ग प्रहरीचौकीका प्रहरी सहायक निरिक्षक पुनाराम गिरि र भूमिकास्थानको उद्यम विकास सहजकर्ता बन्दना रावत लगायतको टोलीले बजार अनुगमन गरेको हो ।


उक्त टोलीका अनुसार अनुगमनका क्रममा केहि पसलले मूल्य सूची नराखेको र केहि पसलले व्यवसाय दर्ता नगरेको पनि पाइएको छ । तौल र गुणस्तरका आधारमा मूल्य सूची नराख्नु, खरिद बिक्री बिलको प्रयोग नहुनु, अधिकतम मूल्य र उपभोग्य मितिको ख्याल नहुनु आम समस्या देखिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।


टोलीले म्याद गुज्रिएका २ हजार हजार बराबरको सामान जफत गर्नुका साथै दर्ता नभएका र नविकरण नगरेका पसलेहरुलाई १५ देखि ३५ दिन भित्रमा वडा तथा नगरपालिकामा गइ पसल दर्ता र नविकरण गर्न निर्देशन गरिएको टोलिले बताएको छ ।

म्याद गुज्रिएका, लेभलिङ्ग नगरिएका र गुणस्तरहिन खाद्य बस्तु बिष सरह हुने भएकोले सचेतता पूर्वक खाद्यबस्तु खरिदबिक्रि गर्न भूमिकास्थान नगरपालिकाले आग्रह गरेको छ ।



