तस्बिर – फाइल ।




काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार पतञ्जलीको जग्गा हिनामिना प्रकरणमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ।

आयोगले पूर्वप्रधानमन्त्री नेपाल, तत्कालीन भूमि सुधार मन्त्रालयका सचिव छविराज पन्त, तथा पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी, नेपालका प्रमुख शालिग्राम सिंहसहितलाई प्रतिवादी बनाएको छ।

गत जेठको पहिलो हप्तामा सार्वजनिक लेखा समितिले पतञ्जली योगपीठको जग्गा सट्टापट्टामा भएको अनियमितता अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने निर्णय गरेको थियो।
भारतको पतञ्जली योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालय, अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो। कम्पनीले हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।

१८ माघ, २०६६ मा तत्कालीन माधवकुमार नेपाल नेतृत्वको मन्त्रिपरिषद्ले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो। त्यसबेला पतञ्जलीले करिब ६ सय रोपनी जग्गा किनेको थियो। कतिपय जग्गा भने त्यसभन्दा अघि नै खरिद भएको थियो।
कानूनतः भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुनेगरी जग्गा राख्ने सुविधाको व्यवस्था छ। तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बेच्न पाइँदैन। कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ।
तर, जग्गा किनेको केही महिनामा नै पतञ्जलीले जग्गा बेच्ने निर्णय गरेको थियो। २०६६ सालमै तत्कालीन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेपछि यस विषयमा प्रश्न उठेको थियो, जसको अख्तियारले छानबिन गरिरहेको थियो।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले थप जानकारी दिँदै भने, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज २२ गते हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसमेत ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।’

रेग्मीका अनुसार, पतञ्जली योगपीठ तथा आयुर्वेदिक नेपालले काभ्रेको नाशिका स्थान साँगा महेन्द्रज्योतिमा कम्पनी सञ्चालनका लागि हदबन्दीभन्दा बढी जग्गा खरिद गरेको र उक्त जग्गा कम मूल्यमा खरिद गरेर बढी मूल्यमा बेचेको आरोप दाबी छ।
यसमा जम्मा ५५४ रोपनी ५ आना १ पैसा जग्गा खरिद गरेको देखिएको छ, जसको मूल्याङ्कन रकम १८ करोड ५८ लाख ५० हजार रहेको छ। हदबन्दीभन्दा बढी बेचिएको जग्गा ३१४ रोपनी १५ आना २ पैसा १ दाम रहेको छ। उक्त जग्गामध्ये पनि गुठी संस्थान हटिचौरको नाममा २५२ रोपनी ३ आना १ पैसा रहेको र पतञ्जली योगपीठ आयुर्वेदिक कम्पनी सो जग्गाको मोही रहेको देखिएको छ।
अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै भ्रष्टाचार निवारण ऐनको दफा ३३ अनुसार माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। २०७९ को प्रतिनिधिसभा निर्वाचनमा नेपाल रौतहट(१ बाट विजयी भएका थिए।
मुद्दामा प्रतिवादीका रूपमा पूर्वप्रधानमन्त्री नेपालसहित पूर्वमन्त्री र अन्य गरी कुल ९३ जना रहेका छन् । -HK
यी हुन् ९३ जना (अख्तियारले विशेष अदालतमा दिएको मुद्दाको विवरण)



