संसदको अवरोध आज हट्न सक्ने, यसरी हुदैछ सहमति

 

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक आज अपरान्ह २ बजेदेखि बस्दैछ ।जेठ १३ गतेदेखि भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिनको माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन् ।

Nepal life insurance

पछिल्ला दिनमा सत्ता पक्ष र विपक्षी दलहरुबीच भएका छलफलमा संसद्को अवरोध खुलाउने विषयमा सहमति नजिक पुगेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको अवरोध खुलाउने विषयमा सहमतिको भाषा टुंगाउने चरणमा रहेको आइतबार प्रतिक्रिया दिएका थिए । प्रचण्डले संसद खोल्ने विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार छलफल गरेका थिए ।

विपक्षी दलहरु गृहमन्त्री लेखकको राजीनामाको अडानबाट पछि हटेको उनीहरुका प्रछिल्ला अभिव्यक्तिहरुले स्पष्ट गरेको छ । अब संसदको अवरोध हटाउने विषयमा ‘सेफ ल्यान्डिङ’ का लागि भाषा मिलाएर सहमति गरिने तयारी गरिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो अडानमा कायम रहेपनि माओवादी केन्द्र र एकीकृत समाजवादी गृहमन्त्री लेखकको राजीनामाको मागबाट पछि हटिसकेका छन् । उनीहरुले भिजिट भिसा प्रकरणमा छानबिन हुनुपर्ने माग त गरिरहेका छन् तर भिजिट भिसा प्रकरण हाल अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन नहुने सत्ता पक्षको अडानमा उनीहरु लगभग सहमत भएको बुझिएको छ ।माओवादी केन्द्र र एकीकृत समाजवादी पछि हटेपछि रास्वपा पनि आज सहमतिमा आउने सत्ता पक्षको बुझाई छ ।

आइतबार नै सहमति हुने भनिएको भएपनि रास्वपाले समय मागेपछि आजसम्मको समय दिइएको बुझिएको छ ;आज १२ बजे सत्ता पक्ष र विपक्षी दलहरुले छलफल गरेर सहमतिको खाका तयार गर्ने र आज तोकिएको २ बजेदेखि नै संसद सुचारु हुने बताइएको छ ।विपक्षी दलहरुको मागलाई सम्बोधन गर्न उनीहरुले उठाएको भिजिट भिसा प्रकरणमा २०६४ देखिकै छानबिन गर्न अख्तियारलाई आग्रह गर्ने आशयको बुँदा समेटर सहमति हुन सक्ने सत्ता पक्षका एक सांसदले एभरेष्ट न्यूज एजेन्सीसँग बताए ।

सभामुख देवराज घिमिरेले समेत आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकमा सत्ता पक्ष र विपक्षी दलहरुबीच सहमति हुने संकेत आफुले पाएको बताउदै सहमतिका लागि समय दिन सोमबार २ बजेसम्मका लागि बैठक स्थगित गरेको बताएका थिए ।

 

Nepal life insurance

अन्य समाचारहरु