




काठमाडौं । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई सहयोग नगर्न चेतावनी दिएको छ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार उनीहरूले इजरायललाई समर्थन गरेमा इरानले ती देशसँग सम्बन्धित सैन्य अड्डा र जहाजमा आक्रमण गर्नेछ ।
इरानी हमलालाई निष्क्रिय पार्न खोजे वा इसराइललाई सहयोग गरे ती देशहरूका सैन्य अखडामा आक्रमण गर्ने उसले धम्की दिएको बेलायती पत्रिका द गार्डियनले जनाएको छ।


इरानले शुक्रबार भएको इसराइल हमलाको जबाफमा शनिबार जेरूसलेम र तेल अभिभ लगायतका क्षेत्रमा मिसाइल र रकेट प्रहार गरिरहेको छ। इसराइलसँगको संघर्षमा बीचमा कोही आए उनीहरूको सैन्य संरचनामा पनि हमला गर्ने भनेर इरानले धम्की दिएको गार्डियनको समाचारमा उल्लेख छ।
बेलायतले अहिलेसम्म इरान–इजरायल द्वन्द्वका विषयमा कुनै टिप्पणी गरेको छैन। तर बेलायतले कुनै पनि सैन्य कारबाहीमा भाग नलिएको बताइएको छ।
बीबीसीका अनुसार इजरायलले पनि बेलायतसँग अहिलेसम्म कुनै सहयोगका लागि अनुरोध गरेको छैन। विगतमा इरानले इजरायलमा ड्रोन प्रहार गर्दा बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेट विमानहरू पठाएर तिनलाई खसालेको थियो।

सुरुमा इजरायलले हिजो शुक्रबार बिहानै इरानका विभिन्न स्थानमा हवाई हमला गरेपछि इरानले पनि बदलास्वरूप इजरायलमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरिरहेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न आह्वान गरेका छन् र अन्यथा इजरायलले अझ गम्भीर आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।



