




काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विदेशको नागरिकता लिइसकेकाहरूलाई नेपाली नागरिकता दिन नसकिने बताएका छन् ।

शनिबार ललितपुरमा आयोजित सुगौली सन्धि र नेपालमा नागरिकता पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले ब्रिटिश गोरखा सैनिकहरुले नेपालको नागरिकता निरन्तरताको माग उठाउनु स्वभाविक भएपनि अर्को देशको नागरिकता लिइसकेपछि नेपालको नागरिकता दिन नसकिने बताएका हुन् ।

‘नागरिकता लिइसकेकालाई हामी नेपालको नागरिकता दिन सक्दैनौँ ।अरु कामहरुका लागि एनआरएन नागरिकता दिन सकिन्छ । हाम्रो जस्तो सानो देशमा धेरै गाह्रो पर्छ । नागरिकताको सम्बन्धमा छलफलको विषय छ,’ देउवाले भने, ‘अरु देशको नागरिक भइसकेकालाई नेपालको नागरिकता दिन गाह्रो छ । अरु सुविधाहरु दिन सकिन्छ । नेपाल फर्किन चाहनेलाई स्वागत भइहाल्छ ।’

ब्रिटिश गोरखा सैनिकबारे समितिमा छलफल जारी रहेकाले संसदबाट निष्कर्ष निस्किने उनले बताए । ‘जहाँसम्म गोरखा ब्रिटिश सैनिकलाई बेलायती सैनिक सरह नै सेवा सुविधा दिनुपर्छ भन्ने नेपालको माग छ । त्यसमा म स्पष्ट छु ।’ देउवाले भने ।



