




छत्रदेव गाउँपालिकाले ५४ करोड बढीको बजेट ल्यायो
अर्घाखाँची — अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ५४ करोड ९ लाख ५५ हजार ७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार सम्पन्न २०औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष मनि पन्थीले बजेटको सिलिङ्ग नगरसभामा प्रस्तुत गर्नुभएको हो।


गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न सभामा ‘सानो, सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान’ भन्ने मूल नारालाई प्राथमिकता दिँदै बजेट प्रस्तुत गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो।

यसपटकको बजेटमा शिक्षा क्षेत्रलाई सबैभन्दा बढी प्राथमिकता दिँदै २ करोड २८ लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, युवा तथा खेलकुदका लागि ४७ लाख ६५ हजार, कृषि विकासका लागि ससर्त बाहेक १ करोड १६ लाख १० हजार र पशुपन्छी विकासका लागि ४६ लाख ३५ हजार रुपैयाँ छुट्याइएको छ।


त्यस्तै जलस्रोत तथा सिंचाइका लागि ससर्त बाहेक ७ लाख, पर्यटन विकासका लागि ३० लाख ८५ हजार, स्वास्थ्य क्षेत्रमा संघीय ससर्त समेत ४९ लाख ९९ हजार ५ सय तथा लैङ्गिक समानता र सामाजिक समावेशीकरणका लागि ७२ लाख ५५ हजार १ सय ३६ रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले स्रोतसाधनको अधिकतम उपयोग गर्दै समावेशी र दिगो विकासलाई प्राथमिकता दिने बताएको छ। उक्त अधिबेशनमा छत्रदेव न्यायीक समितिको वाषिक प्रतिवेदन छत्रदेव न्यायीक समिती संयोजक गाउँपालिका उपाध्यक्ष मनि पन्थीले प्रस्तुत गर्नुभएको थियो ।








