




काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको थुनछेक बहस सकिएको छ । न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा भएको थुनछेक बहस केहीबेर अघि सकिएको हो ।
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोविन्द बन्दीलगायतले बहस गरेका थिए । बयानका लागि आफ्ना पक्षका कानुन व्यवसायी लिएर नेपाल बुधबार बिहान ११ बजे विशेष अदालत पुगेका थिए ।

त्यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्त नेतृत्वको टिमले बहस गरेका थिए ।
अब इजलासले पूर्वप्रधानमन्त्री नेपाललाई पुर्पक्षका लागि थुनामा राखेर मुद्धा अगाडी बढाउने या धरौटीमा छोड्ने भन्ने आदेश गर्ने छ ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजारको विगो जरिवाना र सजाय मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर भएको थियो ।



