सर्वोच्चको आदेशले ट्रम्पलाई ठुलो राहत, कार्यकारी आदेश लागु गर्न सहज

 

काठमाडौँ । अमेरिकी सर्वोच्च अदालतबाट राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ठुलो राहत भएको छ । सर्वोच्च अदालतले देशभरका न्यायाधीशहरूको शक्ति सीमित गर्ने फैसला गरेको छ, जसले ट्रम्पलाई उनले जारी गरेका कार्यकारी आदेश लागु गर्न सहज हुने भएको छ ।

धेरै उच्च र जिल्ला अदालतहरूले ट्रम्पको आदेशलाई निलम्बन गरेपछि, ट्रम्पले सर्वोच्चमा गरेको अपीलमाथि फैसला गर्दै सर्वोच्च अदालतले तल्लो तहका न्यायाधीशहरूलाई राष्ट्रपतिको कार्य रोक्ने अधिकार नभएको आदेश दिएको छ ।

Nepal life insurance

विशेष गरि आप्रवासीहरूका बच्चाहरूको लागि जन्मको आधारमा नागरिकताको संवैधानिक अधिकार समाप्त गर्ने ट्रम्पको आदेशविरुद्ध विभिन्न अदालतले लागु नगर्न आदेश दिएका थिए ।

अब सर्वोच्चको आदेश अनुसार जन्मको आधारमा नागरिकता सम्बन्धी ट्रम्पको आदेश ३० दिनमा आंशिक रूपमा लागू हुनेछ । अमेरिकामा जन्मने बित्तिकै बालबालिकाहरूलाई नागरिकता दिइन्छ । यद्यपि, ट्रम्पले राष्ट्रपति बनेपछि यसलाई रोक्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।

ट्रम्पले सर्वोच्चको आदेशपछि प्रतिक्रिया दिदै यो निकै ठुलो आदेश भएको बताएका छन् । साथै उनले यो आदेशबाट आफु निकै खुशी भएको र यो अद्भुत आदेश भएको बताएका छन् । उनले भनेका छन्- ‘ठूलो निर्णय, होइन र ? यो एउटा ठूलो निर्णय थियो, अद्भुत निर्णय, जसबाट हामी धेरै खुसी छौं ।’

 

Nepal life insurance