




काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीलाई आफुले भयानक मृत्युबाट बचाएको दाबि गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले खामेनीको दाबिलाई झूटो भन्दै आफुले खामेनीलाई भयानक र अपमानजनक मृत्युबाट बचाएको बताएका हुन् । उनले भनेका छन्- ‘मैले खामेनीलाई भयानक र अपमानजनक मृत्युबाट बचाएँ । म उनले मलाई धन्यवाद दिने अपेक्षा पनि गर्दिन ।’


ट्रम्पले खामेनीको ठेगानाको बारेमा आफु जानकार रहेको तर उनले इजरायल र अमेरिकी सेनालाई उनलाई मार्नबाट रोकेकोले उनको ज्यान बचेको उल्लेख गरेका छन् । उनले अगाडी भने- ‘विश्वव्यापी प्रणालीमा सामेल हुनुको सट्टा, इरान क्रोध र शत्रुता देखाउँदैछ, जसका कारण उनीहरूको सेना, अर्थतन्त्र र भविष्य बर्बाद भएको छ ।’
यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इजरायलले इरानको सर्वोच्च नेतालाई मार्न चाहेको बताएका थिए ।

यसैबीच, इरानी राष्ट्रपति मसूद पजाश्कियानले इजरायलको आक्रमणको जवाफ नदिएको भए, यसले सम्पूर्ण क्षेत्रमा ठूलो र अनियन्त्रित युद्ध सुरु गर्न सक्ने बताएका छन् ।
पजाश्कियानले बेलारुसको मिन्स्कमा अनलाइनमा आयोजना भइरहेको चौथो युरेशियन आर्थिक मञ्चमा सामेल हुँदै इजरायलले इरानको भूमिमा आक्रमण गरेको र इरानी सेनाले संयुक्त राष्ट्र संघको नियम अनुसार यसको सही जवाफ दिएको बताए ।
साथै पजाश्कियानले अमेरिका र इजरायलले इरानको शान्तिपूर्ण आणविक सुविधाहरूमा गरेको आक्रमण अन्तर्राष्ट्रिय नियमहरूको गम्भीर उल्लङ्घन भएको बताउदै आफ्ना आणविक सुविधाहरू अन्तराष्ट्रिय आणविक उर्जा केन्द्रको पूर्ण निगरानीमा रहेको बताएका छन् ।



