




काठमाडौँ । भारतका सबैभन्दा धनी व्यापारी मुकेश अम्बानीले आफ्नो नेतृत्वको कर्पोरेट समूह रिलायन्स इन्डस्ट्रिजमा पुनर्संरचनाको प्रक्रिया सुरु गरेका छन् । यसमा, क्याम्पा कोला जस्ता १५ भन्दा बढी एफएमसीजी ब्रान्डहरू संयोजन गरेर नयाँ कम्पनी बनाउदै छन्, जुन हाल रिलायन्स रिटेल भेन्चर्सको हिस्सा रहेका छन् ।

यसको उद्देश्य यी उत्पादनहरूमा विशेष ध्यान दिनु र एफएमसीजी क्षेत्रमा मात्र रुचि राख्ने लगानीकर्ताहरूलाई आकर्षित गर्नु रहेको उल्लेख गरिएको छ । अम्बानीको यो रणनीतिले समूहलाई द्रुत वृद्धिको नयाँ ट्रयाकमा पुग्न मद्दत गर्ने विश्लेषण गरिएको छ ।

कम्पनीले आफ्ना तीनवटा रिटेल एकाइहरूका सबै ब्रान्डहरूलाई संयोजन गरेर नयाँ ‘रिलायन्स कन्ज्युमर प्रोडक्ट्स लिमिटेड’ नयाँ कम्पनी बनाउन लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यो रिलायन्स इन्डस्ट्रिज अन्तर्गत सिधै काम गर्नेछ, जस्तै जियोले गरिरहेको छ ।
रिलायन्सको पछिल्लो तथ्याङ्क अनुसार, रिलायन्स रिटेल भेन्चर्सको मूल्य ८.५ लाख करोड भारुभन्दा बढी छ । यदि यसको आइपीओ आयो भने, यो शेयर बजारमा सबैभन्दा ठूलो सार्वजनिक निष्कासनहरू मध्ये एक हुन सक्ने बताइएको छ । ठूला स्थापित ब्रान्डहरू भन्दा ४० प्रतिशतसम्म कम मूल्यमा रिलायन्स कन्ज्युमर प्रोडक्ट्स ग्रुपले उत्पादन, वितरण र मार्केटिङ व्यवसाय ह्यान्डल गर्छ । यसले कोका-कोला, मोन्डेलेज र हिन्दुस्तान युनिलिभर जस्ता ठूला ब्रान्डहरू भन्दा २०-४० प्रतिशत कम मूल्यमा आफ्ना उत्पादनहरू बेच्छ । यसले खुद्रा विक्रेताहरूलाई पनि उच्च मार्जिन दिन्छ ।

रिलायन्स इन्डस्ट्रिजमा डिमर्जर योजनालाई जुन २५ मा राष्ट्रिय कम्पनी कानून ट्रिब्युनलले अनुमोदन गरेको थियो । उपभोक्ता ब्रान्ड स्थापना गर्न धेरै पूँजी लाग्ने हुनाले यो व्यवसायलाई खुद्रा इकाईबाट अलग गरिएमा यसको आवश्यकतालाई सूचीकरण गरेर पूरा गर्न सकिन्छ ।
रिलायन्स एक मात्र भारतीय कम्पनी होइन, जसले आफ्नो व्यवसायलाई छुट्टै कम्पनीको रूपमा सूचीबद्ध गरेर वास्तविक मूल्य बाहिर ल्याउँदैछ । टाटा मोटर्स, आदित्य बिर्ला फेसन एण्ड रिटेल, क्वेस कर्प, सिमेन्स, रेमन्ड, वेदान्त र आइटिसीले पनि त्यस्तै गरेका छन् ।
उदाहरणका लागि, गत महिना सिमेन्सबाट अलग भएको सिमेन्स इनर्जी इन्डियाको मूल्य एक लाख करोड भारु भन्दा बढी थियो । सूचीकरण पछि, दुई कम्पनीहरूको कुल मूल्याङ्कन २.१४ लाख करोड भारु पुगेको थियो ।

गत महिना, क्वेस कर्प, सिमेन्स र आदित्य बिर्ला फेसन एण्ड रिटेल जस्ता ठूला कम्पनीहरूको एकाइहरू छुट्टाछुट्टै कम्पनीको रूपमा शेयर बजारमा प्रवेश गरेका छन् । रेमन्डको रियल इस्टेट एकाइ रेमन्ड रियल्टी जुलाई १ मा सूचीबद्ध गरिएको थियो । टाटा मोटर्सको कार व्यवसाय, जसमा जगुआर ल्याण्ड रोभर समावेश छ, यस वर्षको अन्त्यसम्ममा बजारमा छुट्टै सूचीबद्ध गर्ने तयारी भइरहेको छ । यो व्यवसाय बस-ट्रकबाट अलग हुने बताइएको छ ।
त्यस्तै वेदान्तले तीन इकाइहरूको छुट्टै सूचीकरणको योजना बनाइरहेको छ । यो स्वीकृतिको पर्खाइमा छ । आइटिसीको होटल व्यवसाय यस वर्षको सुरुमा स्वतन्त्र कम्पनीको रूपमा सूचीबद्ध गरिएको थियो ।
रिलायन्सको यो कदम निश्चित रूपमा धेरै सकारात्मक हुने र यस कदमले यो समूहले ठूलो एफएमसीजी साम्राज्य निर्माण गर्न सफल हुने विश्लेषण ब्राण्डका विज्ञहरुले अहिले देखि नै गर्न थालेका छन् ।

अब रिलायन्स समूहले एफएमसीजी क्षेत्रमा पनि त्यस्तै सफलता पाउन सक्छ, जुन दूरसञ्चार र मिडिया क्षेत्रमा प्राप्त गरेको छ । यसको स्पष्ट संकेत पनि आउन थालेको छ । रिलायन्सको उपभोक्ता व्यवसायको वृद्धि तीव्र छ ।
धेरै छोटो समयमा, एफएमसीजी क्षेत्रमा रिलायन्सको वार्षिक आम्दानी ११ हजार करोड नाघेको छ । यसलाई हेर्दा, यो समूह सबै उपभोक्ता ब्रान्डहरूलाई एउटै छानामुनि ल्याउन सफल हुने देखिन्छ ।



