




बुटवल । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । संसदीय दलका नेता धर्मबहादुर चौधरीले पार्टी केन्द्रको निर्णय अनुसार नै लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका हुन् ।

लुम्बिनी प्रदेश सभा नागरिक उन्मुक्ति पार्टीका दुई प्रत्यक्ष निर्वाचित र दुई समानुपातिक गरी चार सांसद रहेका छन् ।
२०८१ साउन ७ गते लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्री आचार्यले भदौ ४ गते विश्वासको मत लिँदा ७० जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका थिए । तर अहिले भने सरकारलाई दिएको विश्वासको मत फिर्ता लिने सांसदहरूको संख्या थपिँदै जान थालेको छ । यसअघि जसपा नेपालका १, लोकतान्त्रिक समाजवादीका ३ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । अब नागरिक उन्मुक्ति पार्टीकासहित कुल ८ सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेका छन् ।

८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा नेकपा एमालेका २९, नेपाली कांग्रेसका २७ सांसद छन् । त्यस्तै माओवादी केन्द्रका ११, राप्रपा र नाउपाका ४-४, जनमत पार्टी र लोसपाका ३-३ जसपाका २, जनमोर्चा, जसपा नेपाल, एकीकृत समाजवादी र स्वतन्त्रका एक एक सांसद रहेका छन् ।



