माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको दाबी – ओलीले आरजु राणाविरुद्ध मुद्दा लगाउने तयारी गरेका छन्

imagesimages

 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी ओलीले अन्य राजनीतिक दलका नेताहरुप्रति प्रतिशोध लिने क्रम नरोकिएको दाबी गरेका छन्। पार्टीसम्बद्ध गोरखा–काठमाडौँ सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै उनले ओली निरंकुश र स्वेच्छाचारी तथा प्रतिशोधी प्रवृत्तिका मानिस भएको टिप्पणी गरे।

Nepal life insurance

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगीमा थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ कदम चालेको पुनले आरोप लागाए। यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो।

‘ओलीजीले विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्धामामिला लगाउने पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति लिनुभएको छ,’ पुनले भने, ‘रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने। एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने। राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने। माधव नेपाललाई मुद्धा लगाएर एकीकृ समाजवादी आफूमा गाभ्ने। उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने।’

उनले कांग्रेस नेता आरजु राणामाथि समेत  मुद्दा लगाउने तयारी गरेको दाबी गरे। ‘हेर्दै जानुस् कांग्रेस गठबन्धनबाट अलिकति चल्मलाउन थाल्यो भने उहाँले कुनै केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ,’ पुनले भने, ‘उहाँले अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ।’

भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको भनाइ छ।

आफ्ना अध्यक्षलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी), सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको समेत पुनले आरोप लगाए।

images

‘जब सीआईबी, सम्पत्ति शुद्धीकरण र अख्तियारबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ’, पुनले भने।

images

ओलीको एकाधिकारवादी निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरुलाई थाहा भएरै उनीविरुद्ध आफूहरुले लडिरहेको उनले जिकिर गरे। ‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौं। केही गल्ती नगरेका कारण हामी डराएका छैनौं। अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभैलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न’, उनले भने।

पुनले ओली सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमा बितेको आरोप लगाए। ‘केपी ओली नेतृत्वको सरकारको एक वर्ष भ्रष्टाचार र बेथितिमै बितेको छ। भ्रष्टाचारका एकपछि अर्को काण्ड थपिएको छ’, पुनले भने, ‘भर्खरै घूस मागेका एक मन्त्रीले राजीनामा दिए। अर्काको फेरि घूस डिल गरेको अडियो सार्वजनिक भएको छ। एक वर्षमा सरकारले बिचौलिया पोस्ने कामबाहेक केही गरेको छैन।’ – NK

images

 

Nepal life insurance