




काठमाडौं । कुलिङ पिरियडमा भएको गडबडी छानबिन गर्न बनेको संसदीय विशेष समितिमा सहमति जुटेको छ ।

लामो छलफलपछि समितिमा सहमति जुटेपछि प्रतिवेदन पारित भएको हो । आइतबारदेखि सोमबारसम्म लगातार छलफल हुँदा पनि सहमति नभएपछि रातभर छलफल भएर आज बिहान ४ बजे सर्वसम्मत रूपमा प्रतिवेदन पारित भएको छ ।

छानबिन समितिका एक सदस्यका अनुसार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुरालाई दोषी किटान गर्दै प्रतिवेदन तयार पारिएको छ ।

‘राजनीतिक पदाधिकारी राजनीतिक र नैतिक रुपमा जिम्मेवार हुने बेहोरा उल्लेख गरेर छानबिन प्रतिवेदन पास भएको छ । विधेयक प्रतिवेदनमा हस्ताक्षर भएकाले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा र समितिका सचिव सुरज कुमार दुराको नाम किटान गरिएको छ ।’ ती सदस्यले भने ।
यसैगरी मुख्यसचिव र कर्मचारीहरुको हकमा पदीय र कानुनी जिम्मेवार हुने भएकाले सोही अनुसार जिम्मेवार हुने व्यहोरा प्रतिवेदनमा उल्लेख छ ।



