विदेश पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ

imagesimages

 

काठमाडौं – बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका-५ की ४३ वर्षीया अञ्जु कोइराला र भक्तपुर नगरपालिका-१० का १९ वर्षीय आभास कोइराला छन्। माल्टा पठाइदिने भन्दै तीन जना पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

Nepal life insurance

उनीहरूलाई  २६ गते काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरी जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

त्यसैगरी, रामेछाप उमाकुण्ड गाउँपालिका-१ की ३० वर्षीया चित्र कुमारी बस्नेत पक्राउ परेकी छिन्। मौरिसस पठाइदिने भन्दै तीन जना पीडितबाट २२ लाख रुपैयाँ असुली गरेको आरोपमा उनी पक्राउ परेकी हुन्।

हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बसोबास गर्दै आएकी उनलाई सोही दिन ललितपुर महानगरपालिका-२६ बाट पक्राउ गरी वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

दाङ तुलसीपुर उपमहानगरपालिका-१२ का ४९ वर्षीय सुनिल विकलाई अमेरिका पठाइदिने भन्दै चार जना पीडितबाट विभिन्न समयमा जम्मा ५६ लाख १५ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको छ।

विकविरुद्ध वैदेशिक रोजगार विभागमा दुई मुद्दामा ४१ लाख, जिल्ला प्रहरी परिसर भद्रकालीमा एक मुद्दामा पाँच लाख र इलाका प्रहरी कार्यालय तुलसीपुरमा एक मुद्दामा १० लाख १५ हजार रुपैयाँको ठगी मुद्दा दर्ता भएको छ।

उनलाई पनि साउन २६ गते काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरी भद्रकाली परिसर पठाइएको आचार्यले बताए।

‘विदेश जाने सपना देखाएर युवायुवतीसँग ठूलो रकम असुली गर्ने मात्र होइन, लामो समयसम्म सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा आएका थिए, संलग्न चार जनालाई हामीले पक्राउ गरी सम्बन्धित निकायमा पठाएका छौं,’ आचार्यले भने।

प्रहरी उपरीक्षक आचार्यका अनुसार सबै अभियुक्तमाथि थप अनुसन्धान भइरहेको छ। पीडितको बयान संकलन भइरहेको छ। उनले वैदेशिक रोजगारीको नाममा पैसा बुझाउँदा व्यक्तिको पहिचान, अनुमतिपत्र र कानुनी प्रक्रिया अनिवार्य रूपमा जाँच गर्न सर्वसाधारणलाई आग्रह गरे।

 

Nepal life insurance