जेन जी आन्दोलन : संयमता अपनाउन चौतर्फी अपिल

imagesimages

 

काठमाडौं । नवपुस्ताको आन्दोलन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि समेत चर्किएपछि संयमता अपनाउन चौतर्फी अपिल गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलदेखि जेनजी अभियन्तासम्मले संयमता अपनाउन आन्दोलनरत पक्षलाई आग्रह गरेका हुन् ।

ramchandra

राष्ट्रपति पौडेलले शान्तिपूर्ण समाधानका लागि संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । उनले नवपुस्ताले उठाएको माग सम्बोधनका लागि जेन जीका प्रतिनिधिसमेत बसेर वार्ता र संवादमार्फत समाधान गर्नुपर्ने बताएका छन् । ‘प्रधानमन्त्रीको राजीनामा स्वीकृत भइसकेकाले अहिलेको विषम परिस्थितिबाट मुलुक जनता र लोकतन्त्रलाई माया गर्दै समस्याको समाधानका लागि सबै पक्षले सहयोग गर्नुहुने विश्वास लिएको छु,’ राष्ट्रपतिको वक्तव्यमा भनिएको छ ।

नेपाली सेनाले पनि संयमता अपनाउन आन्दोलनरत पक्षलाई आग्रह गरेको छ ।

545925550_1104675238

दोस्रो दिन मंगलबारको प्रदर्शनमा आन्दोलनकारीहरूले प्रशासनिक केन्द्र सिंहदरबार, व्यवस्थापिका केन्द्र संसद् भवन र न्यायापालिका केन्द्र सर्वोच्च अदालत कब्जामा लिएर आगजनी गरेका छन् ।

नेपाली सेनाले सार्वजनिक सम्पत्तिको रक्षा सबैको दायित्व हुने भएकाले संयमतता अपनाउन आग्रह गरेको छ । ‘नेपाली सेना नेपाल र नेपाली जनताको हित र सुरक्षामा सदैव समर्पित रहेकाले हाल विकसित अवस्थालाई मध्येजनर गर्दै नेपाल र नेपाली जनताको जिउधनको रक्षा गर्न प्रतिवद्ध रहेको छ,’ सेनाको वक्तव्यमा उल्लेख छ ।

प्रशासक र सुरक्षा निकायका प्रमुखहरूले  समेत संयुक्त विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण समाधान निकाल्न अपिल गरेका छन् । ‘प्रधानमन्त्रीको राजीनमा स्वीकृत भएको हुँदा यस विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछौँ ।’

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि स्थिति युवाहरूको पक्षमा आएकाले आन्दोलन रोक्न अपिल गरेका छन् । उनले भनेका छन्, ‘प्लीज जेन जी देश तपाईँहरूकै हातमा हो, तपाईँहरूले नै बनाउने हो । अब जति क्षति हुन्छ तपाईँ हाम्रो नै हुने हो, अब घर फर्किनुस् ।’

नागरिक अभियन्ताहरूले पनि तोडफोडमा नउत्रिन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । नेत्र चिकित्सक सन्दुक रुइतले जेन जीको आन्दोलनका कारण असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको भन्दै सार्वजनिक सम्पत्तिमाथि आगजनी नगर्न आग्रह गरेका छन् । उनले लेखका छन्, ‘परिवर्तनका लागि सडकमा विरोध प्रदर्शन गरिरहनुभएका भाइबहिनीहरू, तपाईंहरूले देखाउनुभएको अदम्य साहसका कारणले असहिष्णु र भ्रष्ट राजनीतिक नेतृत्व पछाडि हटिसकेको छ । यस्तो अवस्थामा सार्वजनिक सम्पत्तिमाथि आगजनी गर्नु र नष्ट गर्नु उचित हुँदैन ।’

विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्ले अबको मार्गदर्शन संयमता, परिपक्वता र दीर्घकालीन सुधारको दिशामा उन्मुख हुनुपर्ने बताएका छन् । ‘देश परिवर्तनको संवेदनशील मोडमा उभिएको छ । त्यसका लागि विधिसम्मत, विवेकसम्मत र समन्वयात्मक बाटो अपनाउनु अहिलेको प्राथमिकता हो । यो कालो समयलाई चिर्दै उज्यालो नेपाल सम्भव छ, तपाईँ हामी मिलेरै यसलाई सार्थक बनाउनेछौँ,’ कुलमानको अपिल छ ।

545621086_1104587038

दोस्रो दिनको आन्दोलनका क्रममा आन्दोलनकारीले शीर्ष नेताका निवासमा आगजनी, तोडफोडसँगै शीर्ष नेतामाथि कुटपिट समेत गरेका थिए । प्रदर्शनकारीहरूले कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आगजनीका साथै कुटपिट गरेका थिए ।

आन्दोलन अनियन्त्रित बनेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत बन्द गरिएको छ।

आन्दोलनकारीले देशभर उग्र प्रदर्शन गर्दा विभिन्न अपराधमा सजाय पाएर कैदमा रहेका कैदीहरू पनि कारागारबाट निस्किएका छन् । कैलाली कारागारका बन्दीहरू आफ्नो सामान बोकेर कारागारबाट निस्किएको तस्वीर सार्वजनिक भएका छन् ।

सर्वोच्च अदालतले पूर्वपक्षका लागि थुनामा पठाएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई समेत कारागार प्रशासनले सुरक्षाको कारण देखाउँदै परिवारको जिम्मा लगाएको छ ।

प्रदर्शन अनियन्त्रित रूपमा अघि बढेपछि जेन जी आन्दोलनका नाममा विज्ञप्ति जारी गर्दै आन्दोलनको जित भएकाले संयम  र धैर्यता राख्न आग्रह गरिएको छ । अपिलमा भनिएको छ, ‘हाम्रो न्यूनतम अडान सर्वस्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकारको गठन र नयाँ निर्वाचनमा जानु हो । त्यसैले आन्दोलनमा संलग्न साथीहरूलाई संयमित रहन र सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन हार्दिक अनुरोध गर्दछौँ ।’

 

Nepal life insurance