




काठमाडौं । भदौ २३ र २४ गते जेन–जीद्वारा गरिएको प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूको सम्झनामा नेपाल बार एशोसिएशनले दीप प्रज्वलन गरेको छ ।

एशोसिएशनले आईतवार कार्यालय परिसरमा दीप प्रज्वलन गरी श्रद्धाञ्जली तथा शोकसभा गरेको हो । शोकसभामा वरिष्ठ उपाध्यक्ष हरिशंकर निरौलाले प्रदर्शनका क्रममा मृतक भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभयो ।

एक मिनेट मौनधारण पनि गरिएको थियो । श्रदाञ्जली सभापश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आन्दोलनका क्रममा ज्यान गुमाएका सपनाहरु पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वर्तमान सरकारलाई आवश्यक परेको सुझाव लिइ देशलाई मध्यावधीमार्फत सही दिशामा अगाडि बढ्न जरुरी रहेको बताउनु भयो । तोकिएको मितिमा भएको निर्वाचनबाट निर्वाचित भएर आउने प्रतिनिधिहरुलाई सत्ता हस्तान्तरण गर्न नसके मुलुकमा गृह युद्ध शुरु हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारको दमनको कारण आफ्नो त्याग गर्नुभएका हाम्रा छोराछोरीहरुको सम्झनामा हामीले श्रदाञ्जली सभा आयोजना गरेका छौं । जुन उद्देश्य लिएर उहाँहरु लड्नुभयो उहाँले ज्यानको बलिदान दिनुभयो । उहाँहरुको सपना पुरा गर्नको लागि हामी जीवितहरुले लाग्नुपर्छ । त्यसका लागि अहिले अनतरिम सरकार गठन भएको छ । यो सरकारले कसैको सुझाव लिन चाहेको खण्डमा हामीले सिन्सियर एड्भाइस दिएर यसलाई पूर्णमा रुपमा सफल पार्नको लागि सहयोग गर्नुपर्छ । यसका लागि हामी कानून व्यवसायीहरु समेत तयार रहनुपर्छ । र तोकिएको निर्वाचनबाट जो प्रतिनिधिहरु निर्वाचित भएर आउँछन् उहाँहरुलाई शान्तीपूर्ण ढंगले शान्ती हस्तान्तरण गर्नुपर्छ । अब हामीले यताउता लाग्न खोज्यौं भने देशले अनपेक्षित रुपमा ठुलो मूल्य चुकाउनेछ । गृह युद्ध नै भएर मारामार र काटाकाट हुनसक्छ । तर जजसले पनि भ्रष्टाचार गरेका छन् उनीहरुलाई मौजुदा कानूनको अधिनमा रहेर कारबाही पाउनुपर्छ । गर्नुपर्छ ।’
भ्रष्टाचार गरेकाजति सबैलाई मौजुदा कानूनको अधिनमा रही कारबाही गर्न समेत उहाँको माग छ ।



