नवदुर्गा भवानीको स्तुतिमा अर्घाखाँचीका टेकराज पोखरेलको नयाँ भजन सार्वजनिक ।

imagesimages

 

दिनेश गैरे, काठमाडौं ।
नवदुर्गा भवानी हिन्दु धर्ममा शक्ति र विजयको प्रतीक देवी हुन् । दुर्गा भवानीलाई दश महाविद्यामा प्रमुख देवीको रूपमा मानिन्छ । विशेषगरी दशैंको अवसरमा नवदुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा नेपालमा प्राचीनकालदेखि चलिआएको छ । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा दुर्गा भवानीलाई स्मरण गर्ने गरिन्छ । भक्तजनहरू देवीको आराधना गर्दै भजन, स्तुति, चण्डीपाठ र नृत्यमार्फत शक्ति र आस्थाको अभिव्यक्ति गर्ने परम्परा रहिआएको छ ।

Nepal life insurance

यसै क्रममा राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन् । भजनलाई धना पोखरेलले शब्दमा उतारेका हुन् भने टेक राज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाले प्रस्तुत गरेको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ ।

भजनलाई कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रेकर्डिङ हुरि स्टुडियोमा गरिएको र भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न गरिएको महासचिव पोखरेलले जानकारी दिए । छायांकनको निर्देशन बिपिन अनुरागीले गरेका हुन् भने आर.डी. दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी वहन गरेको थियो । उनका अनुसार दिन–रात नभनी मेहनत गर्ने सम्पूर्ण प्राविधिक समूह र कलाकार बधाईका पात्र हुन् ।

टेक राज पोखरेलले यो भजन आफ्नो पाँचौँ सिर्जना रहेको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर धार्मिक र सांस्कृतिक भजनहरूको रचना, निर्माण र प्रसारणमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्लाहरू तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ । यस परम्परालाई आधुनिक शैलीमा प्रवाह गर्दै आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो उद्देश्य भएको पोखरेलको भनाइ छ ।

नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको छ । भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा लिइएको छ ।

 

Nepal life insurance