





काठमाडौं । दसैँको दसौँ दिनलाई विजया दशमी वा महादशमी वा बडादसैँ वा टीकाको दिनको रूपमा मनाइन्छ । दसैँको मुख्य दिन भनेर चिनिने यस दिन विधिवत् पूजा गरेर घटस्थापनामा रोपेको जमरा निकालिन्छ ।

घटस्थापनादेखि पूजा गरेर थापँ (घडा) राखेको र स्थापना गरेको सबै सामाग्रीलाई पूजा गरेर निकाल्ने चलन छ । दही, अछेता र अबिर मुछेर बनाएर रातो टीका तयार पारिन्छ । घरको मूलीले परिवार सबैलाई टीका लगाइदिएर जमरा र दक्षिणासहित आशीर्वाद दिने परम्परा छ ।
यस्तै, कति स्थानमा स्थापना गरेको वस्तु खड्ग हान्ने चलन पनि रहेको छ । ‘कतिले स्थापना गरेको कुभिण्डो, अदुवाको बोट र उखुको बोट खड्ग हान्ने चलन छ । यसको मतलव असत्य, अन्याय र लोभलाई मारेको प्रतीक यी वस्तु हुन् । असत्यमाथि सत्यको जित भएको स्थिति ल्याउन सिकाउने यो चाड हो,’ विनोदमान राजभण्डारीले ‘सालाना मनाउँदै आएको चाडपर्वहरू’ नाम पुस्तकमा वर्णन गरेका छन् ।

यस दिन घरमा टीका थापेपछि आफ्नो आफ्न्त, इष्ट तथा आफूभन्दा अग्रजको हातबाट टीका थाप्न जाने चलन पनि छ । टीकाको दिनबाट पूर्णिमाको दिनसम्म टीका लगाउन जाने चलन हुन्छ । तर, कतिपय समुदाय जस्तै, अर्घाखाँचीमा भने टीकाको दिनमा मात्र टीका लगाइदिने चलन रहेको छ ।
ठूलाले सानालई असल वचनले आर्शिवाद दिने तथा सानाको माया र श्रद्धा प्राप्त गर्ने दिनको रूपमा पनि यस दिनलाई लिइन्छ । आजैको दिन नेवारी समुदायमा आगम घर, जहाँ गुप्त विधिहरू सम्पन्न गरी तलेजु भवानी वा देवीको पूजा गरिन्छ, मा जम्मा भएर खड्ग समाती पायाः निस्कने पनि गरिन्छ ।
भण्डारीका अनुसार,‘रातो वस्त्र लगाई कुमारी, पहेँलो वस्त्र लगाई वसुन्धरा, सुन्तला रङ्ग लुगा लगाई अजिमा र निलो लुगा लगाई भैरव देवताको रूप लिएर आगम घरमा स्थापना गरी पूजा गरेको खड्ग लिएर आ–आफ्नो क्षेत्र परिक्रमा गर्न आउँछन् । अनि गणेश वा कुमारी देवताको अगाडि चुनले स्वस्तिक चिह्न लेखेर त्यसमाथि कुभिण्डो राखेर यिनीहरू सबैले काट्छन् ।’
यो दिन चुडाकर्म, ब्रतवन्ध नगरेका केटाहरूलाई कुमार सम्झेर पुजा गर्ने र कन्या केटीहरूलाई कुमारी सम्झेर पूजा गर्ने चलन पनि छ । नेवारी समुदायमा यसै दिनमा नै पनि नखत्य– आफन्तलाई बोलाइने भोज–बोलाउनु चलन पनि छ ।



