





प्रकृतिको दृश्यावलोकन गर्न अर्घाखाँचीको सुपा देउराली
-अर्घाखाँची डट्कम ।
अर्घाखाँची – अर्घाखाँचीको शितगंगा नगरपालिका २ र सन्धिखर्क नगरपालिका ७ को सिमानामा सुपा देउराली देवीको मन्दिर पर्दछ । यो मन्दिर पूर्व पश्चिम राजमार्गको कपिलवस्तु जिल्लाको गोरुसिङ्गेबाट उत्तरतर्फ ४९.२ किलोमिटरको दुरीमा दाहिनेतर्फ सुपा खोलाको उच्च भागमा रहेको छ । मन्दिरको दुवैतर्फ अग्ला अग्ला सुन्दर पहाडहरू रहेका छन् ।


यो मन्दिर समुन्द्र सतहबाट ४ हजार ५ सय फिटको उचाइमा रहेको छ । प्राकृतिक सम्पदाले भरिपूर्ण यो मन्दिर प्यागोडा शैलीको निकै नै कलात्मक र आकर्षक रहेको छ। यस मन्दिरमा सुपा देउराली देवी लगायत गणेश, नवदुर्गा महाकाली, महालक्ष्मी, शिव लगायत विभिन्न देव देवताहरूको मूर्तिहरू रहेका छन् ।

प्राचीन कालमा मनले चिताएको कुरा पुरा गर्न एक युवकले आफू लाहुरे हुन सुपा देउराली देवीलाई भाकल गरेको र मनोकामना पुरा भएपछि बिदामा घर फर्कँदा भाकल नचढाई देवीको बाटो छली भाग्न खोज्दा देवीले भाकल गर्ने युवालाई भिरमा टाँसिदिएको किम्बदन्ती रहेको छ ।

अहिले पनि उक्त भिर हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परको छ । जुन लाहुरे टाँसिएको भिरको नामले निकै नै प्रसिद्ध रहेको छ ।
यस मन्दिरमा बलि दिने प्रथा भएता पनि औँसी, श्रीपंचमी, ऋषि पञ्चमी, कृष्ण जन्माष्टमी, एकादशी, राम नवमी र अक्षय तृतीयाका दिन बलि चढ्दैन । पर्यटकहरूले प्रकृतिको दृश्यावलोकन गर्नको लागि पहाडको उच्च भागमा २७२.८५ मिटर लामो झोलुगें पुल समेत रहेको छ ।



