





गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
असौज–२७,अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क–११ को डिभर्ना स्वास्थ्यचौकी नगरभित्र उत्कृष्ट भएको छ । सन्धिखर्कभित्रका १२ वटा स्वास्थ्यचौकी मध्ये गत आर्थिक बर्ष २०८१÷०८२ को कार्यसम्पादनमा डिभर्ना स्वास्थ्यचौकी पालिकाकै उत्कृष्ट बन्न सफल भएको हो ।

सन्धिखर्क–स्वास्थ्य शाखाको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष २०८१÷८२ को पालिका स्तरिय वार्षिक समिक्षा गोष्ठीमा स्वास्थ्यचौकी डिभर्नालाई उत्कृष्ट स्वास्थ्यचौकीका रुपमा सम्मान गरिएको छ ।

स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा स्वास्थ्यचौकी तर्फ डिभर्नाले उच्चतम अंक प्राप्त गरेर प्रथम भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले बताउनुभएको छ ।


सोहि अनुसार सन्धिखर्क–४ को वाङ्गला स्वास्थ्यचौकी दोस्रो र सन्धिखर्क–७ को खाँचिकोट स्वास्थ्यचौकी तेस्रो हुन सफल भएका छन् । कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका तिनवटै स्वास्थ्यचौकीका प्रमुख र वडाध्यक्षलाई सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले सम्मानपत्रले सम्मान गर्नुभएको छ ।

समिक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सन्धिखर्क–५ का वडाध्यक्ष रिषव अधिकारीले उत्कृष्ट भएका स्वास्थ्य संस्थाबाट अन्य स्वास्थ्य संस्थाहरुले सिक्नु पर्ने बताउनुभएको छ ।

साथै दिर्घरोगीले नियमित सेवन गर्ने औषधिको समयमै आपुर्ति गर्नपनि उहाँले स्वास्थ्यशाखाको ध्यानाकर्षण गराउनुभएको छ । निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज गौतम, विभिन्न वडाका अध्यक्षहरु, सन्धिखर्कभित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र पत्रकारको समेत उपस्थितिमा गरिएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले सन्धिखर्क नगरपालिकाको स्वास्थ्यसेवा र त्यसबाट सिर्जित परिणाम सकरात्मक र नकरात्मक सुचक समेटिएको गत तिन बर्षका तथ्याकंको आधारमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


कार्यक्रममा बोल्दै उहाँले आफ्नो जिम्मेवारीको नियमित काम सबैले गरेपनि व्यवस्थित रुपमा निर्धारित समय भित्रै तोकिएका सूचकहरु पुरा गर्ने संस्थानै उत्कृष्ट हुने भएकोले सबैले राम्रो कामको सिको गर्नुपर्ने बताउनुभएको छ ।

जनस्वास्थ्य निरिक्षक प्रकाश परियारको सहजीकरणमा सम्पन्न कार्यक्रमका सहभागीले विपद् र महामारी लगायतका समयमा स्वास्थ्यकर्मीले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै अझै उच्च मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिएका छन् ।



