





गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची ।
असौज–२८,अर्घाखाँची – जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा सेवाग्राहीको चाप बढ्दै जान थालेपछि कार्यालय समय थप गरिएको छ ।
जिल्ला प्रशासनबाट प्रदान गरिने नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी र पेन्सन सिफारिस लगायतका सेवा लिने सेवाग्राहीको भिड अत्यधिक बढेपछि असौज २६ गतेदेखि असौज ३१ गते सम्म समयअवधि बढाएर सेवा दिन थालिएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आइतबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सेवा दिंदैआइरहेको छ । कार्यालयमा पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएकाले कार्यालयको समय थप गरिएको प्रशासकिय अधिकृत श्यामहरी भट्टराईले बताउनुभएको छ । प्रशासनको तर्फबाट प्रेस नोट जारी गर्दै उहाँले आम नागरिकलाई यस्तो जानकारी दिनुभएको हो ।
सेवाग्राहीलाई अधिकतम सहज, सरल र छिटो सेवा दिने प्रशासनको योजना अनुसार समय थप गरिएको प्रेस नोटमा उल्लेख छ । प्रशासकिय अधिकृत भट्टराईका अनुसार प्रशासनको सेवालाई प्रभावकारी र सहज बनाउनको निम्ती सहायता कक्ष र गुनासो सुन्ने अधिकारीको व्यवस्थापन गरिएको छ ।

कुनैपनि व्यक्तिलाई भनसुन नगरि कुनै गुनासो वा अस्पष्टता भए कार्यालयमै आएर ढुक्कका साथ समस्या राखेर हल गर्न समेत जिल्ला प्रशासन अर्घाखाँचीले आम नागरिकमा अपिल गरेको छ ।



