





गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
कार्तिक–१,अर्घाखाँची – अर्घाखाँचीको छत्रदेव गाउँपालिका स्वास्थ्यसेवा प्रवाहमा उत्कृष्ट पालिका बन्न सफल भएको छ । ६ वटै पालिकामा रहेका स्वास्थ्य शाखा मध्ये गत आर्थिक बर्ष २०८१÷०८२ को कार्यसम्पादनमा छत्रदेव जिल्लाकै उत्कृष्ट भएको हो । स्वास्थ्य कार्यालय अर्घाखाँचीको शुक्रबार सम्पन्न आर्थिक वर्ष २०८१÷८२ को जिल्ला स्तरिय वार्षिक समिक्षा गोष्ठीमा छत्रदेवलाई उत्कृष्ट पालिकाको रुपमा सम्मान गरिएको छ ।

स्वास्थ्य क्षेत्रका विभिन्न सूचकका आधारमा छत्रदेवको स्वास्थ्यशाखाले सबैभन्दा उच्चतम ७५.७४ प्रतिशत अंक प्राप्त गरेर प्रथम भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभएको छ । यस्तै मालारानी गाउँपालिका ७५.१३ प्रतिशत अकंको साथ दोस्रो र पाणिनि गाउँपालिका ७४.२४ प्रतिशत अकं प्राप्त गरि तेस्रो भएका छन् ।


कार्यसम्पादन मूल्याकंनमा ७३.९६प्रतिशत अंक ल्याई सन्धिखर्क नगरपालिका चौथो, ६९.७४ अकं प्राप्त गरि भुमिकास्थान नगरपालिका पाचौं र शितगगां नगरपालिकाले ६५.२० प्रतिशत अकंको साथ छैठौ स्थान प्राप्त गरेको स्वास्थ्य कार्यालय प्रमुख पोखरेलको भनाई छ । कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका तिनवटै पालिकाका स्वास्थ्यशाखा प्रमुखलाई सम्मानपत्रद्धारा सम्मान गरिएको छ । सोहि अवसरमा जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारीलाइ पनि उकृष्ट कार्य सम्पादन गरेको भन्दै सम्मान गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले इमान्दारिपूर्वक नागरिक सेवामा लाग्न स्वास्थ्यकर्मिलाइ आग्रह गर्नुभएको छ । सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले गलत प्रचार गर्ने गिरोह जिल्लामा सक्रिय रहेको उल्लेख गर्दै त्यस्ता व्यक्तिको पहिचान गरिरहेको बताउनु भयो । अस्पतालमा शव राख्ने फ्रिज नियमित संचालनमा राख्न आग्रह गर्दै किन्नको निम्ती रकम अभाव भएको भए आफुहरूले रकम दिन तयार रहेको उहाँले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले जनमैत्री काम गर्न आग्रह गर्नुभयो । अस्पताल प्रमुख डा.जगन्नाथ तिवारी, अधिकृत सुनिता आर्चाय लगायतले बोल्दै अर्घाखाँची अस्पतालमा बल्ड बैकं स्थापना अनिवार्य भएको बताएका छन् ।
सुरक्षा निकायका प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मि लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको शिव बजान्डेले जानकारी दिनुभएको छ ।



