



-अर्घाखाँची डटकम् ।
अर्घाखाँची – अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–२ स्थित त्रिवेणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।


संस्थाका अध्यक्ष कमलप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष गोविन्द बहादुर भट्टराई क्षेत्री, पूर्व अध्यक्षहरू चन्द्रप्रसाद बन्जाडे र उत्तममणि मिश्र सहित विभिन्न अतिथि तथा सरोकारवालाहरूको उपस्थिति थियो। कार्यक्रममा कुल १२०२ जना शेयर सदस्य सहभागी भएका थिए।

सभामा अध्यक्षीय प्रतिवेदन अध्यक्ष घिमिरेले प्रस्तुत गरे। त्यस्तै सचिव नारायणप्रसाद भुसालले आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न कार्यक्रम र आगामी वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रमबारे जानकारी गराए।

कोषाध्यक्ष शिव बेल्वासेले संस्थाको वित्तीय विवरण प्रस्तुत गर्दै कुल कायम बचत १३ करोड ६४ लाख ६६ हजार २ सय ३६ रुपैयाँ ५७ पैसा रहेको जानकारी दिए।

लेखा संयोजक रामलाल भुसालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रस्तुत प्रतिवेदनहरू माथि शेयर सदस्यहरूले विस्तृत छलफल गरेका थिए । कार्यक्रममा शेयर सदस्यीय वर्ष वृद्ध सम्मान, विद्यार्थी सम्मान, असल ग्राहक सम्मान, ऋणी सम्मान लगायतका सम्मानहरू प्रदान गरिए।

सोही अवसरमा सहकारीको निरन्तर सहयोगी ठहरिएको भन्दै अर्घाखाँची डटकमका जिल्ला समाचार प्रमुख केशव पन्थीलाई पनि सम्मान गरिएको थियो।


उपाध्यक्ष टोपलाल खनालको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव नारायणप्रसाद भुसालले सञ्चालन गरेका थिए।

सभाका विभिन्न चरणमा सहकारी सचेतना सम्बन्धी कविता तथा नृत्य प्रस्तुतिहरू समेत गरिएको थियो।



