



जेनजी आन्दोलनले सरकार परिवर्तन बाहेक अरु प्रगति गर्न सकेनः राजमो लुम्बिनी अध्यक्ष खत्री
-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची।
कार्तिक–३०,अर्घाखाँची – राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बम बहादुर खत्रीले जेनजी आन्दोलनले सरकार परिवर्तन बाहेक अरु प्रगति गर्न नसकेको आरोप लगाउनुभएको छ ।


युवाहरू आफै गन्तव्यहिन भएको र अरुले उपयोग गर्दा यो स्थिति पैदा भएको उहाँको तर्क छ । शनिबार सन्धिखर्कमा सम्पन्न उक्त पार्टी निकट युवा विद्यार्थिको संयुक्त प्रशिक्षण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष खत्रीले यस्तो बताउनभएको हो ।

स्पष्ट विचार सहितको संगठन विना गरिएको आन्दोलनलाई अमेरिका, भारतको साम्राज्यवाद र स्वतन्त्र तिब्बतका एजेन्टहरुले उपयोग गरि दिशाविहिन बनाइदिएको उहाँले बताउनुभयो । जसको परिणामले देश अझ राजनितिक खाडलमा फसेको उहाँको जिकिर छ । अहिलेपनि नेपाललाई अस्थिरतामा झुलाएर फाइदा उठाउने देशी तथा विदेशी प्रतिक्रियावादीहरुको चलखेल र डिजाइन भइरहेको अध्यक्ष खत्रीको दाबी छ ।

राष्ट्रभक्त शक्ति सबै एक ठाउँमा उभिएर देश र संविधानको रक्षा गर्नुपर्ने, संघिय व्यवस्था तत्काल खारेज गरि देशलाई निकास दिनुपर्ने र सबल नेपाल निर्माणमा जिम्मेवार ढङ्गले लाग्नुपर्नेमा उहाँको जोड छ ।

जिल्लाका ६ वटै पालिकाबाट युवा विद्यार्थिका अगुवा नेता कार्यकर्ताको सहभागितामा सम्पन्न कार्यक्रममा राजमो नेता शेर बहादुर वि.सी., झविलाल थापा, थम्मन के.सी.,बाबुराम पन्थी, अखिल छैठौंका केन्द्रिय सचिव जिवन नेपाली लगायले पनि प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो ।


कार्यक्रममा बोल्दै उहाँहरुले राजमो निकट अखिल छैठौं र युवक संघ कर्मठ जनशक्ति उत्पादन गर्ने कारखाना भएको बताउनुभएको छ ।

दिशाविहिन अवस्थामा रहेका जेनजीहरुलाई राजनितिक दिशामा आघि बढाउने अभिभारा पनि छैठौं र युवक संघको कांधमा रहेकोले सोही अनुसार लाग्न उनिहरुको आग्रह छ ।

कार्यक्रम युवक संघका जिल्ला अध्यक्ष रेसम वि.क.को अध्यक्षता, अखिल छैठौंका जिल्ला सहसचिव भोजराज खनालको स्वागत मन्तव्य र अखिल छैठौंका जिल्ला अध्यक्ष कविता रानाको संचालनमा सम्पन्न भएको हो ।



