



-गोपाल प्रसाद भट्टराई , अर्घाखाँची ।
मंसिर–०१,अर्घाखाँची
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले गत आर्थिक वर्ष २०८१÷०८२ मा लक्ष्यभन्दा १३ लाख बढि राजस्व संकलन गरेको छ । आन्तरिक राजस्व संकलनमा ८२ लाखको लक्ष्य राखेकोमा भूमिकास्थानले ९५ लाख ६८ हजार रुपैयाँ संकलन गर्न सफल भएको हो ।

भूमिकास्थानले आइतबार आयोजना गरेको सामाजिक परिक्षण कार्यक्रममा यो तथ्य सार्वजनिक गरेको हो । गत वर्ष भूमिकास्थानमा ८६ करोड ८८ लाख ४७ हजार रुपैयाँ कुल बजेट रहेको थियो । जसबाट ४ सय १३ वटा कार्यक्रम र १ सय ८२ वटा योजनाको कार्यसम्पादन भएको योजनाशाखाका कार्यक्रम अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिनुभएको छ । गत वर्ष गरेको ३ किलोमिटर सहित भूमिकास्थानले हालसम्म ४१ दशमलव ५ कि.मि सडक कालोपत्रे गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीका अनुसार गत बर्ष भूमिकास्थानको भौतिक प्रगति ९५ प्रतिशत र वित्तीय प्रगति ८९.१४ प्रतिशत रहेको छ । प्रत्येक वडामा एक÷एक गरी १० वटा मुख्य सडकको स्तरवृद्धि, ५ सय ३४ घरमा खरको छाना हटाएर जस्ताको छाना लगाउने कार्य सम्पन्न गरी पालिकालाई “खरको छानो मुक्त” बनाउने दिशामा भूमिकास्थानले सफलता प्राप्त गरेको छ ।
नगरपालिकाको “कर्मशिल जनशक्ति परिचालन कार्यक्रम” अन्तर्गत २ सय ९ जनाले ६ हजार ४ सय ७६ दिनको काम गरेका छन् भने बाँझो जमिनलाई खेतीयोग्य बनाएर उत्पादन र बजारिकरणमार्फत आन्तरिक आम्दानी वृद्धि गरिएको छ । स्वास्थ्यतर्फ वडातहमा आयोजित विशेषज्ञ र घुम्ती शिविरहरू, गाउँघर क्लिनिकमार्फत जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति र एकल महिलालाई लक्षित सेवा प्रवाह गरिएको छ ।
स्वस्थ जीवनशैलीका लागि सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षामा पनि उल्लेख्य सुधार देखिएको छ । कक्षा ८ को नतिजा १८ प्रतिशतबाट २९ प्रतिशत र कक्षा १० को नतिजा २२ प्रतिशतबाट ५५ प्रतिशतमा पुगेको दाबी गरिएको छ । “सिक्दै– कमाउँदै–रमाउँदै विद्यालय कार्यक्रम” संचालन गरिरहेको भूमिकास्थानले यसबर्षबाट “बुक फ्रि फ्राइडे” कार्यक्रम निकै प्रभावकारी बन्दै गएको पालिकाले जनाएको छ । कृषिमा रैथाने बीउ संरक्षण, अन्न उत्पादन वृद्धि, व्यवसायिक कृषि र बजारिकरणमा समेत उल्लेखनीय प्रगति भएको उल्लेख गरिएको छ । यस्तै महिला, बालबालिका तथा जेष्ठनागरिक शाखाले पनि लक्षित वर्ग केन्द्रित विभिन्न कार्यक्रम संचालन गर्नुका साथै जिल्लामै पहिलो पटक डिजिटल प्रविधिबाट परिचयपत्र दिने व्यवस्था मिलाएको छ ।

कार्यक्रममा नगरप्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडे, प्रमुख प्रशासकीय अधिकृत जग्दीशचन्द्र नेपाली लगायतले सिमित स्रोतमा मितव्ययी ढंगले काम गरी भूमिकास्थानलाई जिल्लाकै नमुना पालिका बनाउने अभियानमा लागिपरेको दाबी गर्नुभयो ।
सहजीकरण गर्ने संस्था बोर्डरलेस मिडिया हब प्राली अर्घाखाँचीका प्रमुख गणेश खनालको अध्यक्षता, भूमिकास्थानको योजनाशाखा अन्तरगत कार्यक्रम प्रमुख हरिश्चन्द्र भुसालको स्वागत मन्तव्य र पत्रकार गोपाल प्रसाद भट्टराईको संचालनमा सम्पन्न कार्यक्रममा नगर स्तरिय राजनितिक दलका प्रतिनिधि, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, एकल महिला संजाल, जेष्ठ नागरिक मन्च, बालसन्जाल तथा अन्य सरोकारवालाको उपस्थिति थियो । आर्थिक बर्ष २०८१/०८२ को सामाजिक परिक्षणको प्रतिवेदनको प्रस्तुति बिषय बिज्ञ एवं प्राध्यापक सुरज सारुले गर्नुभएको थियोे ।



