प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छः मुख्यसचिव अर्याल

imagesimages

 

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले प्रशासन चलाउने शक्ति पद भन्दा पनि विश्वास रहेको बताउनुभएको छ ।
३५ वर्षको सरकारी सेवापछि मंगलवार अनिवार्य अवकाशमा जान लाग्नुभएका मुख्यसचिव अर्यालले प्रधानमन्त्री तथा उच्च अधिकारीहरूको उपस्थितिमा आयोजित विदाइ समारोहमा बोल्दै यस्तो बताउनुभएको हो । उहाँले सरकारी सेवामा प्रशंसाभन्दा बढी चुनौती, आलोचना र असहज परिस्थितिहरू आउने बताउनु भयो । कुनैपनि राष्ट्रिय सेवकले प्रश्नबाट भाग्न नसक्ने उहाँको भनाई छ ।

Nepal life insurance

उहाँले विशेषगरी संवेदनशील क्षण र निर्णायक अवस्थाहरूमा सबै पक्षलाई सन्तुष्ट पार्न नसकिने बताउनु भयो । जेन–जी आन्दोलन, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापन जस्ता चुनौतीपूर्ण परिस्थितिमा उपलब्ध साधन र सूचनाका आधारमा सकेसम्म उचित निर्णय लिने प्रयास गरेको उहाँको भनाई छ । उक्त विषम परिस्थितिमा भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भुमिका गरेको उहाँले बताउनु भयो । यसबाट पनि आगामी दिनमा निजामती सेवाको उच्च महत्व स्थापित भएको उहाँले बताउनु भयो । तरपनि प्रश्न गर्ने समाजको स्वभावै भएको उहाँको भनाई छ । उहाँले संघीय निजामती सेवा र कानूनी संरचनामा देखिएका कमजोरी तथा नेतृत्व विकासमा अवरोध पु¥याउने व्यवस्थाहरूविरुद्ध आफूले स्पष्ट रुपमा खुला धारणा राखेको बताउनु भयो । ती विषयहरू व्यक्तिगत विवाद नभएर संस्थागत सुधारको अनिवार्यता रहेपनि आलोचना र विवाद भएको उहाँले बताउनु भयो । त्यस क्रममा भएका आलोचना र प्रशंसा दुवैलाई आफूले स्वीकार गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रशासन चलाउने शक्ति पदमा नभई विश्वासमा हुन्छ । त्यस्तै, नागरिकको विश्वास, सहकर्मीको विश्वास, र संस्थाको विश्वास प्राप्त भए भने नतिजामा कार्यसम्पादन गर्न सकिन्छ भन्ने लेसन लर्न मैले पाएको छु । यो मैले ३५ वर्षको मेरो अनुभवबाट सम्माननीय प्रधानमन्त्रीज्यु र उपस्थित सम्पूर्ण साथीहरू, कुनैपनि राष्ट्रिय सेवक आलोचना र प्रश्नबाट भाग्न सक्दैन । सरकारी सेवा केवल प्रशंसा र सम्मानको कथा मात्र हुँदो रहेनछ । यसमा चुनौती, असहजता, आलोचना, र कहिलेकाहीँ गलत आंकलन पनि अवश्यम्भावी हुन सक्दा रहेछन् । विशेषगरी, संवेदनशील र निर्णायक समयमा जिम्मेवारी वहन गर्दा सधैँ शत प्रतिशत सबैलाई खुशी पार्न सकिने रहेनछ । जेन–जी आन्दोलनका कठिन क्षणहरू, राष्ट्रिय सम्पत्तिको रक्षा, शान्ति व्यवस्थापनका चुनौती, यी सबैमा हामीसँग उपलब्ध साधन, संरचना, र सूचनाको आधारमा सकेसम्म उचित निर्णय लिने प्रयासमा यो विषम परिस्थितिमा भर्चुअल सचिव बैठक, राजनीतिक समन्वय जस्ता महत्वपूर्ण सहजीकरणबाट नागरिक सरकारको गठनमा महत्वपूर्ण भुमिका रहेको यथार्थबाट हामी आगामी दिनमा निजामती सेवाको उच्च नेतृत्वको महत्व स्थापित भएको छ, तर प्रश्न गर्ने समाजको स्वभावै हो । ठ्याक्कै, यसरी संघीय निजामती सेवा, कानून सम्बन्धि छात्रहरूमा पनि म स्वयं स्पष्ट धारणा राख्ने गर्दछु । प्रशासनिक क्षमतालाई कमजोर पार्ने र भविष्यको नेतृत्व विकासमै अवरोध पुर्याउने व्यवस्थाहरू बारे खुला बोल्नु मेरो लागि कर्तव्य थियो । तर म सधैँ संस्थागत निर्णयप्रति प्रतिबद्ध रहँदै अगाडि बढेँ । ती विषय मेरो व्यक्तिगत विवाद थिएनन् । आलोचना होस् वा प्रशंसा, दुवैलाई मैले सेवाको स्वाभाविक चक्रको रुपमा स्वीकार गरेको छु ।’

उहाँले सेवा निवृत्त हुँदै गर्दा निजामती सेवाले पछिल्ला वर्षमा गरेका प्रमुख उपलब्धिहरू समेत सार्वजानिक गर्नुभयो । वैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा लैजानु, सेवा प्रवाह सहज बनाउनु, सामाजिक सुरक्षा विस्तार, निजामती सेवा अस्पताल तथा इमिग्रेसन सेवा सुधार, सुशासन र व्यवसायिक वातावरण सुधारमा म्यासिभ र दिगो प्रयत्न गरिएको उहाँको भनाई थियो । यी उपलब्धि कुनै एक व्यक्तिको नभई सम्पूर्ण निजामती सेवाको सामूहिक उपलब्धि भएको उहाँले बताउनु भयो । उहाँले समयमा महत्व र कठिन अवस्थामा पनि राज्यका संयन्त्रहरूलाई चलायमान राखेको उल्लेख गर्नुभयो । जेन–जी आन्दोलनले देशलाई स्पष्ट सन्देश दिएको उल्लेख गर्नुहुँदै मुख्यसचिव अर्यालले नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता र सहज सेवा चाहेको बताउनुभयो । उहाँले अहिलेका संरचनाहरूलाई अनुकूलन र सुधार गर्ने समय आएको उल्लेख गर्नुभयो । उहाँले निजामती सेवामा साहस नखस्किन नदिन पनि आग्रह गर्नुभयो । सुधार गर्ने हिम्मत, न्यायपूर्ण निर्णय गर्ने इमान, नागरिकप्रति संवेदनशीलता तथा संस्थालाई अगाडि बढाउने दृढता बिना राज्य बलियो नहुने उहाँको भनाई छ । इतिहासले सधैँ साहसलाई सम्मान गर्ने भन्दै उहाँले कठोर निर्णयहरू प्रायः एकमत नआउने तर देशलाई चाहिने निर्णय भने हुनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘निजामती सेवाबाट निवृत्त हुँदै गर्दा, मलाई के अनुभूति भएको छ भने, एउटा राष्ट्रिय सेवकको जीवनभरको पूँजी वा सम्भावना भनेको उसले उपलव्ध गरेका पद र अन्य भौतिक कुरा नभएर, उसले गरेको कामको नतिजा मात्र हुँदो रहेछ । यसमा मलाई गर्व छ कि हामीले बैदेशिक रोजगार प्रणालीलाई डिजिटल दायरामा ल्यायौं, सेवा प्रवाहलाई सुगम बनायौं, सामाजिक सुरक्षा विस्तारमा वास्तविक प्रगति गर्यौं, निजामती सेवा अस्पताल र इमिग्रेसन सेवालाई सुधार गर्यौं, सुशासन र व्यवसायिक वातावरण सुधारको दिशामा म्यासिभ, दिगो, र प्रोसेसिबल लिभिङ फर्म गर्यौँ । समयमा महत्व र कठिन अवस्थामा पनि राज्यका संयन्त्रहरूलाई चलायमान राख्यौँ । यद्यपि, यी कार्यहरू मेरो वा कुनै एक व्यक्तिको उपलव्धि नभएर, हामी समग्र निजामती सेवाको उपलव्धि हो, यसैको नतिजा हो, र सामूहिक प्रतिबद्धता हो भन्ने मलाई लाग्दछ । जेन जी आन्दोलनको हामी सबैलाई एउटा स्पष्ट सन्देश दिएको छ, नागरिकले उत्तरदायित्व, पारदर्शिता, कार्यक्षमता, सुशासन, सहज सेवा विकास, र राष्ट्रिय गौरव चाहन्छन् । प्रणाली परिवर्तन गर्नुपर्छ, अनुकूलन हुनुपर्छ, सुधार गर्नुपर्छ ।

म अब पदबाट जाँदै गरेपनि सुधारको आवाज निरन्तर अझै बलियो हुनुपर्छ भन्ने मेरो अटल विश्वास छ । मेरो आग्रह छ, निजामती सेवामा साहस नखस्काऔँ । सुधार गर्ने साहस, न्यायचित भएर निर्णय गर्ने इमान, नागरिकका लागि झुक्ने संवेदनशीलता, र संस्थालाई अघि बढाउने दृढता । यी गुणहरू बिना राज्य र प्रणाली बलियो हुनै सक्दैन । मेरो अनुभव छ, साहसी निर्णयमा सधैँ सबैको सहमति हुँदैन । तर इतिहासले सधैँ साहसलाई सम्मान गर्दो रहेछ र गरिरहेको छ । आज म एउटा कुरा प्रष्ट रूपमा भन्न चाहन्छु, नेपालको निजामती सेवा आलोचना होस् वा कठिन परिस्थिति होस्, देशलाई अगाडि बढाउने मुख्य शक्ति हो ।’

मुख्यसचिव अर्याल २०४६ साल माघ ४ गतेबाट सरकारी सेवामा प्रवेश गर्नुभएको थियो । उहाँ ५८ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जान लाग्नुभएको हो

 

Nepal life insurance